१५ देशमा फैलियो ‘ओमिक्रोन’, दुई देशमा विदेशी नागरिक प्रवेशमा रोक


काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वभरका १५ देशमा फैलिसकेको छ । सुरुमा दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोन भेरियन्ट बढी सङ्क्रामक र घातक हुनसक्ने अनुमान गरिएको छ । यससँगै थुप्रै देशहरूले विभिन्न अफ्रिकी मुलुकहरूबाट आगमनमा प्रतिबन्ध लगाइसकेका छन् । जापान र इजरेलले मङ्गलवारदेखि सबै विदेशी नागरिकको आगमनमा रोक लगाइसकेको छ ।

अहिले ओमिक्रोन भेरियन्ट विश्वभरका १५ देशमा फेला परिसकेको छ । ओमिक्रोन भेरियन्ट फेला परेका देशहरूमा दक्षिण अफ्रिका, बोत्सवना, बेल्जियम, हङकङ, इजरेल, युनाइटेड किङडम (युके), नेदरल्यान्ड, जर्मनी, चेक रिपब्लिक, अष्ट्रिया, डेनमार्क, अष्ट्रेलिया, इटाली, क्यानडा र फ्रान्स रहेका छन् ।

ओमिक्रोन भेरियन्ट सुरुमा फेला पार्ने डाक्टरले यो भेरियन्टबाट सङ्क्रमितमा मध्यम किसिमका लक्षण देखिएको र घरमै निको हुनसक्ने बताएकी छन् । दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनकी अध्यक्ष डा एन्जेलिक कोएत्जीले ओमिक्रोनबाट सङ्क्रमितहरूले स्वाद अथवा गन्ध नगुमाएको र शरीरमा अक्सिजनको मात्रा पनि धेरै नघटेको बताएकी छन् । यद्यपि, ओमिक्रोन भेरियन्टबारे अनुसन्धानबाट विस्तृत जानकारीहरू आउन बाँकी छ ।

प्रतिक्रिया