मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (मंगलबार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनको लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । शाही गएको कात्तिक १६ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री नियुक्त भएका हुन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गरेर आजै मत विभाजन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा हाल कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ मत आवश्यक पर्छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीसहितका सत्तारुढ गठबन्धनसँग हाल २१ मत छ । प्रदेशसभामा स्पष्ट बहुमत देखिएकाले शाहीले विश्वासको मत पाउने लगभग निश्चित जस्तै छ । प्रदेशसभामा माओवादी केन्द्रको १२, कांग्रेसको ६ समाजवादीका ३ जना सांसद छन् ।
आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने अनुपस्थित हुने भएको छ । आफ्ना सबै सांसद पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा भाग लिन चितवन गएकाले बैठकमा सहभागी हुन् नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । एमाले अनुपस्थित भए पनि आजको बैठक नरोकिने सभामुख राजबहादुर शाहीले बताए ।