छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु


काठमाडौं – संखुवासभा, मकालु गाउँपालिका-३ समटारस्थित सडकमा रौता कन्स्ट्रक्सन कम्पनीको क्रसर रहेको स्थानमा सोही कम्पनीको ज.१क ४१२ नम्बरको जेसिबी सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा सह-चालक खाँदवारी नगरपालिका-६ माथिल्लो पाङ्ठा बस्ने २४ वर्षीय श्याम विकको बिहीबार दिउँसो मृत्यु भएको छ । विकले उक्त जेसिबी चलाई काम गर्दै गरेको अवस्थामा दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बझाङ, केदारस्युँ गाउँपालिका-४ बागथला बजार नजिकै सडकमा बागथलाबाट देउरातर्फ जाँदै गरेको से.१ ज ९६८ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने अनिल रावलको छोरा ४ वर्षीय योगेन्द्र रावलको बिहीबार साँझ मृत्यु भएको छ । बाटो काट्ने क्रममा जिपले ठक्कर दिंदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, राजबिराज नगरपालिका-५ मिलन चोकस्थित सडकमा को.७ प ४४१० नम्बरको मोटरसाइकललाई स.१ त २८७८ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिंदा मोटरसाइकलमा सवार बिष्णुपुर गाउँपालिका-५ बस्ने ६० वर्षीय लेलाही खङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-७ सिसहानीस्थित भित्री सडकमा लु.२३ प ९५६८  नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका-५ खैरेनी बस्ने २८ वर्षीय श्याम पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुहीमा हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी, रामधुनी नगरपालिका-६ सुनसरी खोला पुलस्थित  सडकमा को.३६ प ९५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पुलमा ठोक्कएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका-६ बस्ने २० वर्षीय रितिक राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-२ घ्युखोलास्थित सडकमा प्र.३-०१-००३ क ४९४३ नम्बरको ट्रकलाई ना.५ ख ५६६८ नम्बरको ट्रकले बिहीबार राति ठक्कर दिई दुर्घटना हुँदा ना.५ ख ५६६८ नम्बरको ट्रकका सह-चालक मोरङ घर भएका २५ वर्षीय सुरसार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै ट्रक चालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

धनुषा, बिदेह नगरपालिका-६ एकराहीस्थित सडकमा ज.७ प ९८१२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया दौलतिया देवी महराको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया