नेपालमा तय भएकाे एएफसी महिला एसियन कपकाे छनाेट खेल उज्वेकिस्तानमा हुने, टोली निरास


काठमाडाैं – नेपालमा तय भएको ‘एएफसी महिला एसियन कप–२०२२’ छनोट खेल अन्तर्गत समूह ‘एफ’को खेल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन् ।

एसियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको महासचिव इन्द्रमान तुलाधरले बताए । यसअघि जारी गरेको तालिका अनुसार नेपालले समूह ‘एफ’को छनोट खेल दशरथ रङ्गशालामा आयोजना गर्ने तालिका थियो ।

नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् । छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । घरेलु मैदानमा हुने आशाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो । तर परिवर्तन भएको तालिकाले टोली केही निरास भएको छ ।

एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बङ्गलादेश लगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन सहरमा हुँदै छ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया