आफूले जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु – किरण गजमेर


काठमाडाैं – ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले शरणार्थी नागरिकका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छन् । उपाधिको छिनोफानो भएसँगै हिजाे भएको कार्यक्रममा उनले आफूले जितेको रकमबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् ।

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दु:ख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’

उनले बिरामी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बाध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् । विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन् : ‘ट्रफी त लैजान्छु नै । जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु । अनि जितेकाे पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा बाँकी रहे कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनोफानो भएको हो। उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपालको उपाधि जितेका हुन्।

किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् । अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् ।

प्रतिक्रिया