तीजको मौलिकता हराएकामा चिन्ता


मध्यविन्दु(नवलपरासी),२७ भदौ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपाकिला–१४ का ६६ वर्षीय तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिले पहिले दिदीबहिनी माइतीघरको पिँढीमा जम्मा भएर गाउने गीत उहाँको मानसपटलमा अझै ताजै छ । तर हिजोआज यस्तो गीत गाउन साथी भेट्नै मुस्किल पर्छ पाध्यायलाई ।
उहाँ भन्नुहुन्छ “अहिले वेदनाका गीत गाउन खोजेपनि साथी भेटिदैनन्, सबै पार्टी प्यालेस र होटेल जान्छन्, कसलाई रङ्ग यस्ता गीतकोे, मलाई त यो संस्कार नै हराउने हो की भन्ने पीर लाग्छ ।”
तीज नजिकिँदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनीहरु दुखसुखका गीत गाउँदै रमाउने गर्थे । आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । जसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको गैँडाकोटकी रिता कँडेलले बताउनु भयो । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना कँडेललाई अस्ति भर्खर जस्तै लाग्छ । तर हिजो आज यस्तो रमाइलो नपाउने गरेको उहाँको भनाई छ ।
“गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासिकी बढेको छ, तीज दुःख बिर्साउने होइन खर्च बढाउने चाड जस्तै बनेको छ, जो मलाई राम्रो लागेको छैन्”,उहाँले भन्नु भयो ।
स्पिकरमा बज्ने गीतले रमाइलो गराएपनि आनन्द भने दिँदैन भन्नुहुन्छ अर्का स्थानीय सरिता घिमिरे । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव छ उहाँ संग तर पछिल्लो समय यसमा आएको परिवर्तन राम्रो लागेको छैन् ।
“पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो”,उहाँले भन्नु भयो “अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ, पहिले खानामा गुन्द्रुक तामाको तरकारी हुन्थ्यो, अहिले त्यो स्वाद कहाँ हरायो ।”
तीज नेपाली नारीको महान चाड हो । यसको अर्को बिषेशता हो नारी बेदना समेटेर गाइने गीत । पहिले पहिले तीज आएसगैँ गाउँघरका दिदी बहिनी एकैठाउँमा बसेर दुःख वेदनाका गीत गाउँथे । तर पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ ।
एकदशक अघि प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला हुन्थे । सुखदुःखका गीत गाउँथे । रमाइलो गर्थे । गाउँघरमा रमाइलो छाउँथ्यो । पीडा र वेदनका गीत पनि गाउँथे । समाजका विकृति र विसङ्गति पनि गीत मार्फत गाउँथे । पर्व एउटा सकारात्मक परिवर्तनका लागि आवाज उठाउने पर्व जस्तो थियो । पिँढीमा हुने रमाइलो अहिले पार्टी प्यालेसमा सरेको छ । दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा पुगिसकेका छन् । यो सांस्कृतिक विरासतको ओरालो यात्रा भएको कतिपयको धारणा छ । नेपाली महिलाहरुले तीज पर्वलाई पवित्र पर्वको रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरूले नै गुनासो गरेका छन् । तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ ।
तीज आउनु भन्दा एक महिना अगाडीबाटै दर खाने प्रचलन बढेको छ । कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनीहरू आज भोलि होटेल र पार्टी प्यालेसमा भेटिन्छन् । वेदनाका गीतमा नाच्ने महिलाहरू अहिले बजारमा आएका रत्यौली गीतमा रमाउँछन् ।
दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै गएकोमा नयाँ पिँढीका महिला पनि चिन्तित छन् । तर तिजको समयमा यसको मौलिकता बचाउन विभिन्न संघसंस्थाले राख्ने प्रतियोगिताले भने यसको संरक्षणमा थोरै भएपनि टेवा पुर्याएको गैँडाकोटका सरिता सापकोटाको भनाई छ ।
“प्रतियोगिता नै सही यसरी विभिन्न संघसंस्थाले राखेको कार्यक्रमले हराउन लागेको संस्कारलाई बचाउने काम गरेको छ” उहाँले भन्नु भयो ।
महिला दिदीबहिनीले आफनै भेषभूषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने धेरैको अग्रजहरूको सुझाव छ ।

 

प्रतिक्रिया