ओली कम्युनिस्ट घटक दलबाट धेरैपटक प्रधानमन्त्री बन्ने पहिलो नेता


काठमाडौं – मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी प्रमुख बनेका ओली कम्युनिस्ट घटक दलबाट धेरैपटक प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त ओलीलाई शुक्रबार विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (३) को व्यवस्थाअनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यसअघि, ४१औं प्रधानमन्त्रीका रूपमा ३ फागुन २०७४ मा संविधानको धारा ७६ (२) अनुसार उनी नियुक्त भएका थिए । त्यसबखत प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यका रूपमा उनले शपथ लिएका थिए ।

तर, उनलाई त्यसबखत समर्थन गरेका माओवादी केन्द्र र अन्य दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले गत २७ वैशाखमा प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए । तर, विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि दललाई तीन दिनको समय दिएर आह्वान गरेकी थिइन् । समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो ।

समयसीमाभित्र प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत पु-याउन नसकेपछि राष्ट्रपति भण्डारीले संसद्मा सबैभन्दा बढी सदस्य रहेको संसदीय दल नेताको हैसियतमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।यो समाचार आजको राजधानी देनिक

प्रतिक्रिया