कोभिड संक्रमितको शव बोक्न फोहोर बोक्ने ट्रिपर


बाजुरा – बाजुरामा शव वाहन नहुँदा कोभिडबाट मृत्यु भएकालाई फोहोर फाल्ने टिपर र यात्रु बोक्ने जीपमा बोकेर लैजाने गरिएको छ । जिल्लाभरी शव वाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिपरले शव बोक्ने गरेको हो ।

केही दिनअघि नगरपालिको यात्रु बोक्ने जीप भाडामा लिएपछि अहिले त्यहि जीपले शव घाटसम्म पुर्‍याउने गरेको छ ।बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु परेको बडिमालिका नगरपालिकाले जनाएको छ ।

जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी समस्या भोग्नु परेको छ। जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा. प्रकाश जोशी गत आर्थिक वर्षमा एम्बुलेन्स र शव वाहन खरिदका रकम आए पनि खरिद गर्न नसक्दा रकम फिर्ता भएको बताउँछन् ।

यो वर्ष पनि एम्बुलेन्स र शव वाहन खरिदका लागि बजेट आएको जानकारी दिँदै जोशाीले खरिदको प्रक्रियामा रहेको बताए । खरिदका लागि प्रदेश सरकारले १५–१५ लाख रुपैयाँ रकम अस्पताललाई पठाएको छ । प्रक्रियामै रहेकाले अस्पतालमा आइपुग्न एक–दुई महिना लाग्ने जोशीको भनाइ छ । आएको बजेट कार्यान्वयन गर्न नसकेको भन्दै अस्पतालप्रति स्थानीय सरकार र जनताले कडा आलोचना गरेका छन् ।

कोभिडबाट मृत्यु भएका मृतकका आफन्तले फोहोर बोक्ने गाडिमा शव लैजाँदा आफूहरूलाई निकै पीडा महसुस हुने बताउँछन् । जिउँदैमा उपचार गर्न नसकेको सरकारले कम्तिमा मरेपछि त सम्मानपूर्वक लैजानुपर्ने उनीहरूको भनाइ छ। एम्बुलेन्सको अभावले कोभिड संक्रमितलाई घरबाट उपचारका लागि जिल्ला अस्पतालमा जान र थप उपचारका लागि जिल्ला बाहिर लैजान समस्या हुने गरेको स्थानीय बताउँछन् ।

अन्य बिरामीलाई त निजी जिपहरूले बोक्ने गरेको भए पनि कोभिडका बिरामीका लागि भने गाडि नपाइने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए । संक्रमित बोक्न बडिमालिका नगरपालिकाले अहिले निजी जिप भाडामा लिएको छ ।

प्रतिक्रिया