झ्याप्लेखोलाको विंंगर जीपमा पुरिएर मृत्यु हुने ९ जनाको पहिचान


रुपन्देही । शुक्रवार बुटवलबाट काठमाडौँ जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा लु १ ज ४५७८ नम्बरको विंगर जीप पुरिँदा मृत्यु भएका ९ जना यात्रुहरूको पहिचान खुलेको छ । जिपसँगै १४ जना यात्रु पुरिएका थिए। शुक्रवार साँझ पुरिएको उक्त गाडी र यात्रु शनिवार साँझ मात्रै फेला परेका थिए।

उक्त घटनामा विंगर चालक रमेश लुइँटेलसहित १४ जना मृत अवस्थामा फेला परेका थिए । घटनामा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षका दीपेश र दीपिका भट्टराई तथा उनीहरूकी आमा सिता भट्टराई छन्।

उनीहरूमध्ये सिता भट्टराई र दीपेश भट्टराईको सनाखत भइसकेको छ भने दीपिकाको सनाखत हुन सकेको छैन। कालिका स्कुलले यो घटनालाई आज विद्यालयमा शोक बिदा गरेको छ । उनीहरू एक प्रतियोगितामा सहभागी हुन काठमाडौँ गएको बुझिएको छ ।

त्यसै गरी बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमीला रायमाझी र क्रिस रायमाझी छन्।

नागढुंगा प्रहरी प्रभागका अनुसार मृतकहरूको पहिचान खुल्न नसकेको र उनीहरूको शव गए राती ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। गाडीमा हराई रहेकाका आफन्तहरू सम्पर्कमा आउने क्रममा रहेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी ७ जनाले टिकट काटेकोबाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन ।

पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो। प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रवार बिहान उक्त जिपमा काठमाडौँ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र मिलन चोकबाट २ तथा राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

बुटवलबाट छुट्दा १२ जना यात्रु लगेको र बीचबाट १ जना गरी १३ यात्रु लगेर चालकसहित १४ जना रहेको आफ्नो समितिको गाडी पुरिएको तर सबैले टिकट नकाटेका कारण पहिचान नखुलेको पश्चिम नेपाल बस समितिका अध्यक्ष दधिराम खरेलले बताए ।

यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ती मध्ये, बोम, कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ।

प्रतिक्रिया