दाउन्ने सडकमा सकस : १ घण्टाभित्र सडक खुलाउन यान्त्रिक र जनशक्ति तयारी अवस्थामा राखिने


बुटवल-नारायणगढ सडक बिस्तार अन्तर्गत दाउन्ने खन्डमा सामान्य वर्षामा पनि घन्टौ सडक अवरुद्ध हुन थाले पछि एक घन्टा भित्र सडक खुलाउने संयन्त्र तयार भएको छ ।पूर्वी र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सडक विभाग र ठेकेदार कम्पनी चाइना स्टेटका प्रतिनिधिले २४ सै घन्टा उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । दुवै जिल्लाका प्रतिनिधिबीच विनय त्रिवेणी गाउँपालिकामा भएको बैठकले दाउन्ने सडकको जोखिम क्षेत्रमा ५ ओटा एक्साभेटर र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय भएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।

सामान्य वर्षामा पनि हिलो र लेदोले सडक अवरुद्ध हुने समस्या समाधानका लागि खाडल पुर्ने र एक घन्टा भित्र सडक सुचारु गर्ने गरी काम भइरहेको नारायणगढ-बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले बताए ।

सडक मर्मत र अवरोध हटाउन प्रयोगमा ल्याइने उपकरण र अपरेटरको विवरण जिल्ला प्रहरी कार्यालय नवलपुर र पश्चिम नवलपरासीलाई ठेकेदार कम्पनीले उपलब्ध गराउने छ ।

सडक बिस्तारको क्रममा खनिएको खाडल र पानीको निकास नहुँदा दाउन्ने क्षेत्रको १५ किलोमिटर सडक खण्डमा दिनहुँ जाम हुने गरेको छ । हिउँदमा धुलो र वर्षामा हिलोले यो सडकको यात्रा कष्टकर हुँदै गएको छ ।

प्रतिक्रिया