प्रदेश सरकारलाई प्रभावकारी बनाउन एमालेको माग


माघ २२ गते । नेकपा (एमाले) ले गण्डकी प्रदेश सरकारलाई प्रभावकारी बनाउने माग गर्दै २४ बुँदै ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई कार्यकक्षमै भेटेर ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

एमालेले प्रदेशको खर्च क्षमता बढाउन र सेवा प्रवाहलाई डिजिटलाइज्ड गर्ने घोषणामा कार्यान्वयनमा लाग्न भनेको छ । पुस मसान्तसम्म सरकारको पुँजीगत खर्च १३‍.३९ प्रतिशतमात्र थियो । नेता अधिकारीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू उद्घाटन, साधारण सभा जस्ता कार्यक्रममा अल्झिएको दाबी गर्दै प्रदेश समन्वय परिषद्को बैठकले गरेका निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरला–त्रिवेणी सडक पूरा गर्न र प्रदेशका गौरव तथा रूपान्तरणकारी योजनामा आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ । प्रशासनिक खर्चमा मितव्ययी बन्न आग्रह गर्दै ध्यानाकर्षणपत्रमा दोस्रो पञ्चवर्षीय योजना निर्माणमा सहभागिता र स्वामित्व सबै पक्षको हुने वातावरण बनाउन माग गरिएको एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले उल्लेख गर्नुभयो ।

यसैबिच, गण्डकी प्रदेश स्थापना भएको छ वर्ष पूरा भएको छ । सो अवसरमा आयोजित कार्यक्रममा एमाले संसदीय दलका नेता खगराज अधिकारीले सुस्ता र बर्दघाट पूर्वको भूमि गण्डकीले पाउनुपर्न माग गर्नुभयो । “संविधानअनुसार सुस्ता र बर्दघाट हाम्रो हो । संसदबाट सङ्कल्प प्रस्ताव पास गरेर भए पनि हाम्रो भूमि ल्याउँछौँ,” उहाँले भन्नुभयो । सुस्ता गाउँपालिका गण्डकीमा आउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया