प्यालेस्टाइन-इजरेल द्वन्द्वः रकेट बमको वर्षा, ७४ को मृत्यु


जेरुसलेम – प्यालेस्टाइनको इजरेल विरोधी समूह हमास र इजरेलबीच युद्धको खतरा बढेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । हमासले इजरेलको तेल अभिभ लगायतका क्षेत्रमा सयौं क्षेप्यास्त्र हानेको छ भने इजरेलले हमासको अखडा मानिएको गाजा क्षेत्रमा क्षेप्यास्त्र हानेको छ ।

सोमबार रातिदेखि सुरुवात भएको यस द्वन्द्वमा परेर हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । खबर अनुसार प्यालेस्टाइन पट्टी १४ बालबालिकासहित ६७ जना र इजरेलको ७ जनाको मृत्यु भएको हो ।

इजरेलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन् । उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ । इजरेली प्रहरीका अनुसार बुधबारको हिंसापछि ३७४ जनालाई गिरफ्तार गरिएको छ । ३६ प्रहरी घाइते भएको बताइएको छ ।

जेरुसलेमका प्यालेस्टाइनी तथा मुस्लिम नागरिकलाई त्यहाँका यहुदी समुदायले लखेट्न खोजेको भन्दै शुरुवातमा त्यहाँ विवाद भएको हो । जेरुसलेमको अल–अक्सा मस्जिद मुसलमानको पवित्र धार्मिकस्थल मानिन्छ ।  प्यालेस्टाइनका नागरिकलाई मस्जिदमा प्रवेश गर्न नदिएपछि हिंसा शुरुवात भएको बताइएको छ ।

शुरुवात भएको संघर्षमा इजरेली प्रहरीले अधिकांश प्यालेस्टाइनी नागरिक घाइते बनाएपछि प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरेलतर्फ हालै क्षेप्यास्त्र हानेको थियो । त्यसको प्रतिकार गर्दै इजरेलले प्यालेस्टाइनको गाजा क्षेत्रमा आक्रमण गर्दा १३ तले भवन समेत भत्किएको छ । बीबीसी

प्रतिक्रिया