‘एग ट्रे’ बेचेरै २० लाख!


भरतपुर – खेर गइरहेका कागज प्रशोधन गरी भरतपुर-१६, रामचोकका दण्डपाणी भट्ट लाखौँ आम्दानी गर्न सफल भएका छन् । फालिएका कागज बटुलेर पुनः प्रयोग गर्ने काममा भट्ट १६ वर्षदेखि सक्रिय छन् ।

चितवन ट्रे एन्ड प्याकेजिङ उद्योगका सञ्चालक भट्टले २८ जनालाई रोजगारीसमेत दिएका छन् । उद्योगमा कागज, कार्टुन, पुराना कापी तथा छापाखानाबाट निस्कने कागजका टुक्रालाई प्रशोधन गरेर एग ट्रे (अन्डा राख्ने) बनाउने गरिन्छ ।

पुराना र फालिएका कागजहरू कवाड व्यवसायबाट संकलन गर्ने गरिन्छ । कुखुरापालनमा १५ वर्ष काम गरेपछि उनी उद्योगतिर लागेका हुन् । चितवनलाई पोल्ट्रीको राजधानीसमेत भन्ने गरिन्छ । त्यसैले ट्रेको चितवनमा राम्रो बजार छ । भट्ट अण्डाको माग बजारमा बढी हुँदा ट्रेको खपत बढ्ने बताउँछन् ।

उद्योगको कमाइले आत्मसन्तुष्टि मिलेको भट्टको भनाइ छ । ‘फालिएका कागजबाटै कमाइ हुँदा खुसी लाग्छ नि,’ उनी भन्छन्, ‘प्रतिस्पर्धा छ, तर गुणस्तरीय र सर्वसुलभ भएपछि बजार पाउन गाह्रो नहुने रहेछ ।’ उत्पादित ट्रे स्थानीय बजारबाहेक काठमाडौं, लाहानसम्म समेत निर्यात हुने गरेको छ ।

दैनिक १५ हजार ट्रे उत्पादन हुने गर्छ । सुरुमा लगानी धेरै गर्नुपरे पनि पछि लगानी थप गर्नु नपरेकाले आयआर्जन राम्रै भएको उनले बताए । उद्योगमा हालसम्म साढे २ करोड लगानी भइसकेको छ । उद्योगबाट वार्षिक ४ करोड आम्दानी हुने गर्छ, जसमा औसत नाफा २० लाखसम्म हुने गरेको उनले बताए ।

केही वर्षपहिले ३ देखि ४ रुपैयाँमा फालिएका कागज खरिद गर्नुपर्ने अवस्था थियो । तर, आजकाल ३० रुपैयाँसम्ममा उद्योगले खरिद गर्ने गर्छन् । बजारमा महँगी बढेसँगै ट्रेको मूल्य पनि बढेको छ । प्रतिगोटा ४ रुपैयाँमा बिक्री हुने ट्रे आजकाल ६ रुपैयाँमा बिक्री हुने गर्छ । आर्थिक अभियानबाट

प्रतिक्रिया