नवलपुरका धान बालीमा सेतो पुतलीको समस्या


विष्णुप्रसाद गौडेल,मध्यविन्दु(नवलपरासी), २१ भदौ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरूले लगाएका धान बालीमा पुतली(झिँगा)को समस्या बढ्न थालेको छ । धान बालीमा सेतो पुतली(झिँगा)को समसया वढ्न थाले पछि किसानहरू चिन्तित भएका छन् ।

जिल्लाको कावासोती नगरपालिका क्षेत्रमा धान बालीमा पुतलीको प्रकोप बढ्दो क्रममा रहेको कावासोती नगरपालिकाका कृषि विकाश शाखाका प्रमुख शिव नारायण कुमालले बतउनु भयो ।

“कावासोती नगरपालिकाको वडा नं.७ देखि १७ सम्मका धान बालीमा पुतलीको प्रकोप दैनिकरुपमा वढिरहेको छ”उहाँले भन्नु भयो “सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति पाएका छौ ।”

धान बालीमा सेतो झिँगाको प्रकोप देखिन थाले पछि नगरपालिकाले व्यवस्थापन सम्बन्धि अभियान नै सञ्चालन गरेको छ । धान खेतमा पुगेर कृषकहरुलाई प्रशिक्षण र व्यवस्थापन विधि सिकाइएको कुमालले बताउनु भयो ।

सेतो झिँगाका कारण धानको पात पहेँलिने समस्या कावासोती र गैँडाकोट नगरपालिकामा जटिल रूपमा फैलिरहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनु भयो ।
“जिल्लाका आठ वटा पालिका मध्य कावासोती र गैँडाकोटमा धान बालीमा पुतली र ढुसी को प्रकोप फैलिदो रुपमा रहेको पाएका छौ”उहाँले भन्नु भयो ।
जिल्लामा अहिले सुरुवाती चरणमा रहेकाले दिन प्रतिदिन धान बालीमा क्षति फैलिदो रहेको लामिछानेले बताउनु भयो । यस वर्ष नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । जिल्लामा यो वर्ष ७६ हजार नौ सय ५६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि पछिल्लो प्रकोपले उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख लामिछानेले बताउनु भयो ।

“यी झिँगाहरू प्राय जसो पातको पछाडि पट्टिको सतहमा बस्दछन्”उहाँले भन्नु भयो “यो कीराको वृद्धि विकास र क्षति प्राय गरेर चिसो मौसम भन्दा गर्मी मौसममा बढी रूपमा देखिनछन् ।”
सेतो पुतलीको वयस्कले एकै पटक एक सय ५० वटा सम्म सेतो रङ्गका फुलहरू पार्ने लामिछानेले बताउनु भयो । यसको बच्चा अन्डा बाट निस्केपछि एक देखि तीन हप्ता सम्म पातमा टाँसिएर बस्ने गर्दछन् ।
“नेपालमा मुख्यतया गोलभेँडा, काँक्रो, भण्टा लगायतका तरकारी बालीमा यस कीराका प्रकोप देखिए पनि पछिल्लो समय धानमा समेत यस किराले व्यापक रूपमा क्षति पुर्‍याउन  थालेको”उहाँले भन्नु भयो ।
यस कीराको वयस्क एक मिलिमिटर भन्दा सानो, शरीर हल्का पहेँलो सेतो तथा पखेटा सेतो हुने बताइन्छ । यो कीरा लागेको बिरुवा चलाउँदा सेता स–साना कीराहरू उडेको देख्न सकिन्छ । यस कीराको वयस्कले रोगी बिरुवाबाट भाइरस जन्य रोगहरू स्वास्थ्य बिरुवामा सार्न सक्दछ । धानको एउटै गाजमा हजारौँको सङ्ख्यामा यसको सङ्क्रमण भएको समेत देखिएको लामिछानेले बताउनु भयो ।
“यो झिँगाको बच्चा, वयस्क दुवैले हजारौँ सङ्ख्यामा रही धानका कलिला पातको रस चुसी बिरुवालाई कमजोर बनाउँदछ”,उहाँले भन्नु भयो “बच्चा अवस्थामा यसले गुलियो पदार्थ उत्पादन गर्छ र यसमा कालो ढुसीको विकास हुन गइ पातको सतह छोप्दा पातमा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध हुन पुग्दछ ।”(रासस)

प्रतिक्रिया