मध्यविन्दुमा दलित समुदायलाई पञ्चेबाजा हस्तान्तरण


मध्यविन्दु,६ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले दलित समुदायको परम्परातगत सिप तथा संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
दलित समुदायले परम्परागत रुपमा बजाउदै आएको बाजालाई व्यवसायिक बनाउन यस वर्ष तीन वटा समुह बनाएर बाजा हस्तान्तरण गरेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।


नगरपालिकाले पञ्चेबाजा हस्तान्तरणसंगै नयाँ पुस्तामा सिप हस्तान्तरणको लागि बाजा बजाउने तालिम समेत सञ्चालन गर्दैछ । “पछिल्लो समय दलित समुदायबाट बाजा बजाउने सिप र पञ्चेबाजाहरु लोप हुन थालेको छ” नगर प्रमुख अधिकारीले भन्नुभयो “उहाँहरुको सिपको हस्तान्तरण र आयआर्जन जोड्नेगरी हामीले योजना बनाएका थियौं । त्यहीं अनुसार बाजाको हस्तान्तरण गरेका हौं ।”
नगरपालिकाले यस वर्ष आरन व्यवसाय गर्दै आएका स्थानीय दुई जना दलित परिवारलाई आरन सुधार कार्यक्रम अन्तर्गत आरनको सामाग्री हस्तान्तरण समेत गरेको नगर उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो ।
नगरपालिकाबाट बाजा पाएपछि मध्यविन्दु–५ का गंगे परियारले खुशी व्यक्त गर्नुभयो । “हामीले पुस्ताले त बाजा बजायौं अहिलेका बालबच्चाहरुले बजाउनै छाडेका थिए” परियारले भन्नुभयो“नगरपालिकाले पञ्चेबाजा दियो,। अब नयाँ पुस्तालाई पनि सिकाउछौं, समुह बनाएर बजा बजाउछौं ।”
पञ्चेबाजा हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले प्राप्त सिपलाई रोजगारी संग जोड्न अनुरोध गर्नु भयो । “बिबाह, वर्तबन्ध, सभा महोत्सवहरुमा पञ्चेबाजाहरुको माग बढ्दो छ । अब तपाईंहरुले पनि सिकेको सिपलाई व्यवहारमा कार्यान्वयन गर्नुहोस् आम्दानीको राम्रो स्रोत बन्छ”नगर प्रमुख अधिकारीले बताउनुभयो ।
पञ्चेबाजा हस्तान्तरण पस्चात बाजा प्राप्त गरेका समुहले बाजा बजाएका थिए भने नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष लगायतले नाच्नु भएको थियो ।

 

प्रतिक्रिया