पौडी खेल्दा डुवेर हराएका बालकको शव भेटियो


मध्यविन्दु,१६ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नारायणीमा पौडी खेल्दा पानीमा डुवेर हराईरहेका एक बालकको शव भेटिएको छ ।
सोमवार दिउँसो साथीहरुसँग नदीमा पौडी खेल्न गएका देवचुली १ का १५ बर्षका संयोग ढकाल पानीमा डुवेका थिए । प्रहरी, ससस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारी र स्थानीय डुंगा चलाउन र पौडी खेल्न सिपालु बोटे, माझीहरुको निरन्तरको खोजतलासपछि आज नदीको तल्लो सतहमा झारमा जेलिएको अवस्थामा शव बाहिर निकालिएको जिल्ला प्रहकारी कार्यालयका सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।
देवचुली १ स्थित नेपाल नमूना माविमा अध्ययनरत संयोग सोमवार दिउँसो ५ जना गाउँकै साथीसहित पौडी खेल्न गएका थिए । संयोग नदीमा हराएपछि साथीहरुले स्थानीयसँग हारगुहार गरेका थिए । लगत्तै प्रहरीले जानकारी पाउनासाथ घटनास्थलमा पुगेर रातीसम्म खोजतलास गरेका थिए ।
सोमवार फेला पार्न नसकेपछि चितवनबाट गोताखोरको टोली मगाईएको भए पनि टोली आउनुपूर्व नै बिहान पौने १० बजे शव फेला परेको वडाअध्यक्ष कृष्णबहादुर केसीले बताउनु भयो । शव पोष्टमार्टम प्रक्रियाका लागि पठाएर घटनाको थप अनुसन्धानमा प्रहरी जुटेको छ ।

प्रतिक्रिया