जग्गा नापजाँचको काम शुरु भएपछि स्थानीय खुशी


मध्यविन्दु,१८ वैशाखा,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानको लागि जग्गा नापी शुरु भएको छ ।
नगरपालिकाको वडा नं. १ बाट सोमबार देखि नापीको काम शुरु भएको हो । नगरपालिकाबाट गएको नापी टोलिले जग्गा नापजाँचको काम शुरु गरेपछि स्थानीय बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् ।
सेतापानीमा २०६१–६२ सालमा बस्ती बसेको थियो । धेरै पटक आश्वासन पाएपनि अहिले नापीको काम नै शुरु हुदा अब जग्गाधनि पुर्जा पाउने विश्वास भएको स्थानीय यादव कुमारी महत्तोले बताउनुभयो । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजिमा सेतापानी पुग्नु भएकी महत्तोले विगतमा बस्ती बस्दा गर्नु परेको संघर्ष निकै कहाली लाग्दो भएको स्मरण गर्नुभयो ।
“स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्दकाल थियो निकै डर लाग्थ्यो ।” महत्तोले भन्नुभयो “के गर्ने उता नारायणीले बगायो । यहीं सबै सहेर बसेको, अब त नापीको काम शुरु भयो । मेयर सरहरु पनि आउनु भएको छ । अब चाहीं जग्गा पाउछ भन्ने विश्वास लागेको छ ।”
स्थानीय लक्ष्मी बि.क. ले जग्गाधनि पुर्जा नहुदाँ निकै समस्या भोगेको भन्दै अब सजिलो हुने बताउनुभयो । १९ वर्ष देखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउदा खुशी लागेको स्थानीय राधिका चौधरीले सुनाउनुभयो ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसंगको सहकार्यमा नापीको काम शुरु भएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
“नगरपालिकाको सबै भन्दा बढी भूमि सम्बन्धी समस्या रहेको मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम शुरु गरिएको छ ” उहाँले भन्नु भयो “जहाँ ४० भूमिहिन दलित, ७३ भूमिहिन सुकुम्बासी र ६ सय ४३ जना अव्यवस्थित बसोबासीले समास्या समाधानको लागि फारम भरेका छन् ।”
मध्यविन्दु–१ बाट शुरु भएको नापीको कामलाई थप जनशक्तिको व्यवस्थापन गरी अन्य वडाबाट समेत गरी दुई स्थानबाट एकै साथ अगाडी बढाउने योजनामा नगरपालिका रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो । लामो समय देखि राजनितिक मुद्दामा सिमित बनेको भूमि सम्बन्धी समस्या समाधानको चरणमा प्रवेश गरेको अधिकारीले बताउनुभयो ।
जग्गा नापीको काम भईरहदा हुन सक्ने समस्याहरु समाधानको लागि स्थानीय स्तरमा सहजिकरण समिति गठन गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले बताउनुभयो । विभिन्न स्थानमा पोइन्टहरु निर्धारण गरेर नापीको काम शुरु भएको अमिन सरोज प्रसाद कुशवाहले बताउनुभयो । “जग्गाको भौगलिक बनावट, जग्गाको साँधियाहरु बीचको समझदारी लगायतको आधारमा जग्गा नापजाँचको लागि कति दिन लाग्ने भन्ने निर्धारण हुने छ” उहाँले भन्नु भयो ।
मध्यविन्दु नगरपालिकाले जग्गा नापजाँचको लागि राष्ट्रिय भूमिआयोगबाट प्राप्त जनशक्ति संगै स्थानीय स्तरमा सर्वेक्षक सहितको प्राविधिकहरु समेत नियुक्ती गरी जग्गा नापजाँचको काम अगाडी बढाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा दुई सय ६४ भूमिहिन दलित, एक हजार एक सय ३२ भूमिहिन र ६ हजार दुई सय ७२ अव्यवस्थितले बसोबासको लागि फारम भरेका छन् ।

 

प्रतिक्रिया