समाजसेवी जापानिज नागरिक ओके बाजे लाई हुप्सेकोटमा सम्मान


हुप्सेकोट गाउँपालिकाको शिक्षा क्षेत्रमा सहयोग गरेको १५ वर्ष पुरा भएको अवसरमा जापनिज समाजसेवी काजुमासा काकीमी (ओके बाजे) लाई सम्मान गरिएको छ । हूप्सेकोट गाउँपालिकाले समाजसेवी ओके बाजेलाई सम्मान गरेको हो । १५ वर्ष देखि वडा नम्बर ६ भित्र रहेका १२ वटा विद्यालयहरुमा छात्रवृत्ति वितरण, गाउँपालिकाको साझेदारीमा विद्यालय भवन निर्माण, शौचालय, स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण देखि स्वाथ्य सुधार र कृषि क्षेत्रमा टेवा पुर्याउने कार्यक्रमहरु ओके बाजेले गर्दै आउनुभएको छ । विकट क्षेत्रमा आएर काम गरेको १५ वर्ष भएको स्मरण गर्दै वडा शिक्षा समितिले गरेको सम्मानले आफुलाई अझै बढि जिम्मेवारी बढेको बताउनुभयो । ओके बाजेले भन्नुभयो “केहि समय अघि चौरासी पुजा गरेको म नेपालीमा बुढो भएपनि जापानमा ८४ वर्ष पुरा भएकोलाई बुढेसकाल लागेको भन्दैन, म बुढो भएको छैन, १ सय वर्ष भएभने पनि म यहां आउने छु । ”


जापानमा आफु आवद्ध विभिन्न संघसस्थाको सहयोग लिएर यस क्षेत्रका शिक्षा,स्वास्थ्य, खानेपानी र कृषिमा १५ वर्षदेखि ओके बाजेले सहयोग गर्दै आउनुभएको छ । विपन्न परिवारका बच्चाहरु शिक्षा बाट बञ्चित हुन नपरोस भन्दै आधारभुत विद्यालयहरुमा एक लाख र माध्यमिक विद्यालयहरुमा एक लाख २० हजारको झोला अक्षय कोष समेत संचालन गर्नुभएको छ ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले ओके बाजेले दिएको शिक्षालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । विकट क्षेत्रमा आएर निरन्तर सहयोग गर्नुभएका बाजेबाट अब आफुहरुले अन्य मानिसहरुलाई सहयोग गर्दै बाच्ने, उहाको जीवनशैली र सहयोगी भावनाको प्रेरणाले आफुहरुलाई परिवर्तन गर्न सकेमात्र बाजेप्रति उच्च सम्मान हुने बताउनुभयो ।

बाजेको सहयोगमा हुप्सेकोट माध्यमिक विद्यालयमा २ कोठे भवन, हुप्सेकोट गाउँपालिकासंगको साझोदारीमा साडा भञ्याङ्गमा ३ कोठे भवन,राष्ट्रिय आधारभुत विद्यालयमा १ कोठे भवन निर्माण भएको अध्यक्ष पाण्डेले बताउनुभयो । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा १५ वर्षदेखि ओके बाजेले पुर्याउनुभएको योगदानलाई गाउँपालिकाले सधै सम्मान गर्ने भन्दै ओके बाजेको दिर्घायुको कामना गर्नुभयो । सम्मान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकले ओके बाजेको सहयोगको खुलेर प्रशंशा गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह राना मगर, वडा अध्यक्ष छाम बहादुर सोमै मगर, जनप्रतिनिधि, वडा भित्र रहेका १२ वटै विद्यालयका शिक्षक विद्याथी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया