उम्मेदवारलाई कृषकका प्रश्नै प्रश्न


मध्यविन्दु(नवलपरासी पूर्व), २४ कात्तिक (रासस)
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार गाउँ गाउँ पुगेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।
यतिखेर नवलपरासी पूर्वमा धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ । कावासोती नगरपालिका–६ विष्णुनगरकी ७२ वर्षिय पुर्णकला भट्राईलाई निर्वाचनमा भोट हालेको लामो अनुभव छ । ०७४ सालको निर्वाचनमा भोट हाल्दा जुन उत्साह थियो, यसपटकको निर्वाचनमा भने नभएको उहाँ बताउनु हुन्छ ।
किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ छ । खेतबारीमा धान थन्काउँनमा व्यस्त भट्राईले भन्नुभयो, ‘नेता आउँछन् भनेर घरमा उहाँहरूलाई कुरेर बस्न सकिन्न’, ‘हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।’
हरेक निर्वाचनमा दलहरूले बाँड्ने आश्वासनले न त दैनिकी फेरिएको छ, न गाउँमा कुनै समस्या समाधान भएकोे छ । ‘जनताका समस्याप्रति उम्मेदवारले चासै दिंदैनन्, ‘हरेक पटक जनतालाई झुक्याउने काममात्रै भयो ।’ निर्वाचनमा दलहरूले दिने भाषण जनताका समस्याभन्दा माथिका हुने गरेको भट्राईको गुनासो छ ।
धान,स्याहार्ने बेला छ । ‘अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त देखिन्छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमाभन्दा खेतबारीमा भेटिन्छन् । त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् ।
कावासोती नगरपालिका ५ कि लक्ष्मी सिग्देल उम्मेदवार घर पुग्दा खेतबारीमा धान स्याहार्न व्यस्त हुनुहुन्थ्यो । चर्काे घाम छ ६० वर्षिय सिग्देल वर्षभरि खाने धान थन्काउन खेतमा हुनुहुन्छ । कृषि पेसाको आधुनिकीकरण, मल तथा बीउबिजनको सुलभता र कृषि उपजको बजारीकरण गर्ने नीति ल्याउने उम्मेदवाहरूलाई किसानहरूले मत दिने उहाँको भनाई छ ।
गाउँमा किसानका समस्या चर्को छ । समयमा मल विउ उपलब्ध छैन् , हरेक चिजमा मुल्य वृद्धि भइरहेको छ, लगानी धेरै गर्नुपर्ने तर सोचे अनुरुपको भाउ किसानले नपाउने गरेको देवचुलीका कृषक रामप्रसाद भण्डारी बताउनु हुन्छ । जुन उम्मेदवारले पनि भाषणमा मात्र यो त्यो समस्या समाधान हुन्छ भन्ने गरेपनि यस्ता समस्या समावेश नै नहुने उहाको बुझाइ छ । बरु जनता कसरी आफ्नो पक्षमा पार्न सकिन्छ र चुनाव जितिन्छ भन्नेमात्रै ध्यानमा दलहरू लागेको भण्डारीले बताउनु भयो ।
आफूले जिते गाउँ र नगर समृद्ध हुने उम्मेदवारका दाबी अहिले पनि दोहोरिएका छन । निर्वाचनका समयमा दलहरूले बाँड्ने आश्वासनमा विश्वासै लाग्न छाडेको मतदाता बताउँछन । हरेक पटक निर्वाचनमा नेताले आश्वासन दिने गरेकाले विश्वास नै लाग्न छाडेको भण्डारीले बताउनु भयो ।
यता उम्मेदवारलाई पनि चुनावी प्रचारप्रसारको हतारो छ । उम्मेदवारहरू किसानले लगाएको धान बारीमा देखिने गरेका छन् ।

 

प्रतिक्रिया