जाडोमा मोबाइलको ब्याट्री लामो समय टिकाउने केही सहयोगी उपाय
काठमाडाैं – धेरै तातो वा धेरै चिसो मोबाइल ब्याट्रीको लागि हानिकारक मानिन्छ । त्यसैले पनि मोबाइल निर्माताले आफ्ना प्रयोगकर्तालाई यसको तापक्रम न्युनतम पनि ३२ डीग्री फरेनहाइटसम्म राख्नुपर्छ भन्ने सन्देश दिन्छन् ।
धेरै चिसोमा मोबाइलको ब्याट्री चार्ज छिटै सकिन्छ । यतिबेला नेपालका अधिकांश भू-भागमा चिसो मौसम चलिरहेको छ । कतिपय ठाउँमा त हिमपात नै भैरहेको छ ।
यस्तो बेला बिजुलीको पनि भर नहुने हुँदा सम्पर्क विच्छेदको सम्भावना रहन्छ । यहाँ केही त्यस्ता टिप्स छन्, जसले जाडोमा पनि मोबाइलको ब्याट्री चार्ज केही लामो समय टिकाउन सहयोग गर्छ ।
१. फोनमा राम्रो कभर र केस प्रयाेग गर्नुहाेस्, जसले तपाईंको स्मार्टफोनको तापक्रमलाई सही अवस्थामा राखिराख्न मद्दत गर्छ ।
२. चिसो समयमा भुलेर पनि स्मार्टफोन खुला स्थानमा नराख्नुहोस् ।
३. लामो कल गर्नुपर्ने छ भने फोनमा पावर बैंक जोडेर कुरा गर्नुहोस् । चिसाेयाममा प्राय: फाेनकाे ब्याट्री तात्तिने समस्या नहुने भएकाले याे विधि प्रयाेग गर्न सक्नुहुन्छ । तर यसलाई वैकल्पिक विधि मात्रै ठान्नुहाेस् ।
४. बाहिर जाँदै हुनुहुन्छ भने स्मार्टफोन बाक्लो र न्यानाे जाकेट अथवा ब्यागमा हालेर हिँड्ने गर्नुहोस् ।
५. यदि फोन चिसोको कारण बन्द भएको छ भने तुरुन्त रिस्टार्ट गर्ने कोशिस नगर्नुहोस् । फोनलाई केही समय न्यानोमा राख्नुहोस्, जसबाट मुख्य गरी ब्याट्री नोक्सान हुनबाट जोगाउन सकिन्छ ।
६. यदि फाेनकाे स्क्रिन पहिल्यै क्रयाक वा फुटेकाे छ भने चिसाे ठाउँमा नराख्नुहाेस्, धेरै शित पर्दा स्क्रिनले काम गर्न छाेड्छ । साथै चिसोयाममा फोनको स्क्रिन राम्ररी चलाउन बजारमा पाइने टचस्क्रिन ग्लोभ प्रयोग गर्न सकिन्छ ।
७. पावर सेभिङ मोड अन गर्नुहोस् । यसले अनावश्यक ब्याट्री खपत घटाउँछ ।