शुक्रबारदेखि काठमाडाैंमा तीन दिन भेरोसेल खोप वितरण, भण्डारण क्षमता पनि बढाउने


काठमाडाैं – काठमाडाैं भोलिदेखि आइतवारसम्म कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पाइने भएको छ । भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दामाथिका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ । काठमाण्डौका सबै पालिकामा १ सय ४६ खोप केन्द्रका राखिएको छ ।

यस्तै काठमाडाैं महानगरपालिकामा बस्नेका लागि भन्दै थप आठ खोप केन्द्र थपिएका छन् । जसअनुसार राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

यस्तै, स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता पनि बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागिएको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कुल चेन’ र ‘सुपर कुल चेन’ को भण्डारण क्षमता बढाउन थालिएको बताए। नियमित रुपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ ।

प्रतिक्रिया