काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै
काठमाडौं – काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । साउन २२ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप लगाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिए । उनले दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्ने बताए ।
त्यसैगरी आज पनि काठमाडौं महानगरपालिकाका वडाहरुमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन नहुने बताइएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ बाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम सञ्चालन हुनेछ ।
अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ । तर, वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन पाउने समेत प्रमुख खड्काले जानकारी दिए ।