नारायणगढ–बुटवल सडक खण्ड एकतर्फी सञ्चालन


मध्यविन्दु (नवलपरासी), ३० साउन ,
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायण-बुटवल सडक खण्डको दाउन्नेमा अवरुद्ध रहेको सडक एकतर्फी सञ्चालनमा आएका छ । सोमबार साँझ नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा भासिएको सडक मर्मतको काम आज पनि नसकिए पछि अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

सडक पूर्णरुपमा सञ्चालनका लागि पहाड फोड्नु पर्ने र खोलाको किनारबाट जग उठाउनु पर्ने भएकाले सडक भासिएको दोस्रो दिन पनि मर्मतको काम नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।

मङगलबार दिनभर सडक मर्मतको काम गरिएकोमा गएरातीको वर्षाले लेदो सहितको माटो सडकमा खसाल्दा पूर्व पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
“बुधवार साँझसम्म काम गर्दा पनि नसकिएपछि भोलि बिहान ८ बजेदेखि पुन सडक मर्मतको काम सुरु गर्ने गरी आजलाई काम रोकिएको छ”,उहाँले भन्नु भयो,“ आज राति पनि गाडीहरू एकतर्फी मात्र सञ्चालन हुने छन् ।”

बिहीबार बिहान पानी नपरेमा बिहान ८ बजेदेखि मर्मतको काम सुरु गरेर दुई घण्टामा दुई तर्फी नै सडक सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ । सोमबार साँझ दाउन्ने बजारमा सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलवार बिहान देखि पूर्ण रुपम यातायात अवरुद्ध भएको थियो ।

प्रतिक्रिया