माछापालनबाट वार्षिक २० करोडको आम्दानी


मीना कंडेल,कावासोती, साउन २० गते । नवलपुर माछापालनमा आत्मनिर्भर जिल्लाका रूपमा विकास हुँदै गएको छ । माछाका लागि वातावरण अनुकूल र कमाई पनि राम्रै हुने भएपछि नवलपुरका युवा अरू पेसा छाडेर माछापालनमा लागेका छन् ।

नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनको लागि उत्कृष्ट प्रमाणित गरेपछि अहिले व्यावसायिक माछापालन गर्ने क्षेत्र समेत बर्सेनि बढ्दो रूपमा रहेको छ । नवलपुर मत्स्य व्यावसायिक कृषक समूहका अध्यक्ष इन्द्रमणी भुसालले जिल्लामा माछापालन व्यवसायबाट एक हजार किसानहरू लाभान्वित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ देवचुली १३ मा विगत १९ वर्षदेखि माछा पालन फर्म दर्तागरि एक बिघामा व्यावसायिक माछा पालन गर्दै आएको छु । वार्षिक रूपमा बाह्र लाख आम्दानी हुने गरेको छ । जसमध्ये पाँच लाख बचत हुने गरेको छ ।”

व्यवस्थित तरिकाले माछा पालन गर्ने हो भने एक बिघामा १५ देखि २० लाखसम्म आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । यहाँका किसानहरूले अहिले यो पेसालाई आम्दानीको मुख्य श्रोत बनाउन सफल हुनुमा आफ्नो पौरख र परिश्रमलाई मुख्य कर्म ठानेका छन्, भुसालले बताउनुभयो ।

देवचुली नगरपालिका १३ की निर्मला दाहाल पनि माछापालनबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउनुहुन्छ । यो व्यवसायबाट राम्रो आम्दानी भएकाले स्वदेशमा नै खुसी भएको बताउनुहुन्छ ।

कावासोती १३ का कृषक कृष्ण पाण्डेले गण्डकी प्रदेशमै अग्रणी जिल्लाका रूपमा रहेको नवलपुरमा कृषकलाई दिने ज्ञान र अनुदानले किसानहरूलाई थप टेवा भएको बताउनु भयो । तीन वर्ष अघिसम्म माछापालन गर्ने कृषकहरूले माछा विक्रीको लागि बजारको राम्रो व्यवस्था, प्राविधिक तालिम नहुँदा समस्या भएपनि अहिले सबै भएको उहाँले बताउनुभयो ।

जिल्लामा पछिल्लो तीन वर्षमा मत्स्य उत्पादनमा वृद्धि भएको छ । मत्स्य पालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र कृषकहरूले राम्रो आयआर्जन गरिरहेको हुनाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको छ । नवलपुरका मत्यविकास अधिकृत सन्दीप लामिछानेले जिल्लामा गत आर्थिक वर्ष २०७८।७९ मा ९३३ मेट्रिक टन, २०७९।८० मा ९६८ मेट्रिक टन माछा उत्पादन भएको थियो । २०८०।०८१ मा ९८१ मेट्रिक टन माछा उत्पादन भएको छ । अहिले १३ मेट्रिकटन माछा उत्पादनमा वृद्धि भएको अधिकृत लामिछानेले बताउनुभयो ।

आर्थिक वर्ष २०७९। ०८०मा पोखरीको सङ्ख्या एक हजार ५१७ रहेको थियो भने २०८०।०८१ यसमा ५७ पोखरीको सङ्ख्या वृद्धि भई एक हजार ५७४ रहेको छ । मत्स्यकार्प फर्म ,२०७९। ०८० मा २१५, २०८०।०८१ म २७३ वटा फर्म छन् । जिल्लाको विभिन्न स्थानीय तहका पाँच मत्स्य समूह र एक सय ३१ कृषकहरूलाई कुल पच्चीस लाख २८ हजार सिल्भर कार्प तथा रोहु, नैनीका भुरा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जनाएको छ ।

जिल्लामा नेपाल सरकारले तोकेको सात जातका माछा पालन गरिँदै आएको छ । जसमा रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर, वडगासी माछा छन् । नवलपुरको विशेषत कावासोती, देवचुली र मध्यविन्दुको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिक कृषि उत्पादन केन्द्र माछा ब्लक  कार्यक्रम अन्तर्गत नयाँ पोखरी निमार्ण गरी माछा पालन गरिएको छ । यस्तै, जिल्लाको कूमारवर्ती, कोल्हुवा, अग्यौलि, रजहर, पिठौली, प्रगतिनगर, धौवादी, आसपासका क्षेत्रमा व्यावसायिक रूपमा माछापालन गरिँदै आएको छ । वार्षिक २० करोड भन्दा बढीको माछा विक्री हुने गरेको नवलपुरबाट नारायणगढ ,काठमाडौँ, बुटवल, मुख्य बजार रहेको बताइएको छ ।

प्रतिक्रिया