कावासोतीमा एक वर्षमा ५.८ कि.मि. कालोपत्रे सडक निर्माण 


विष्णु गौडेल,कावासोती (नवलपरासी), ९ भदौ ,
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ म ५.८ किलोमिटर सडक कालोपत्रे गरेको छ ।  नगर भित्रका १७ वटा वडाहरूमा गत आर्थिक वर्ष जम्मा पाँच हजार आठ सय तीन मिटर सडक कालोपत्रे गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला राज पौडेलले बताउनु भयो ।
गत आर्थिक वर्ष कावासोती नगर भित्र ९.३६ किलोमिटर बाटो ग्राभेल गरिएको छ भने २६.७ किलोमिटर बाटो मर्मत गरिएको छ ।


कावासोती नगरपालिकामा आव २०८०/८१ म १८.६ किलोमिटर बरावरको नाला निर्माण गरेको छ । नगर भित्रका १७ वटै वडामा गरी १८ हजार छ सय ९३ मिटर बरावरको नाला निर्माण गरिएको हो ।
गत आर्थिक वर्षमा कावासोती नगरपालिका भित्र ४५ वटा कल्भर्ट निर्माण गरिएको छ । वडा नं.५ मा ९ वटा, वडा नं. ६ र ९ मा ५÷५ वटा, वडा नं.१६ मा ४ वटा, वडा नं. १२ र १७ मा २/२ वटा, वडा नं. १, ३, ४, ७, ८ र १५ मा १/१ वटा कल्भर्ट निर्माण गरिएको पूर्वाधार विकास शाखाका सव इन्जिनियर रञ्जित केसीले बताउनु भयो ।


त्यसै गरी नगर भित्र गत आवमा २४ सय ५७ मिटर बरावरको पर्खाल निर्माण गरिएको छ । वडा नम्बर ४, ५, ६, ७, ८, ११, १२, १४, १६ र १७ नम्बर वडामा गरी २४ सय ५७ मिटर बरावरको पर्खाल निर्माण गरिएको हो ।
गत आवमा एक सय ९३ मिटर बरावरको बाटो ढलान गरिएको छ । वडा नं. १ मा ६५ मिटर र वडा नं. ९ मा एक सय २८ मिटर बाटो ढलान गरिएको हो ।


गत आवमा नै ३.६ किलोमिटर बाटोमा मोजाएक टायल विच्छाइएको छ । वडा नं. २, ३, ६, ७, ८, ११, १६ र १७ मा मोजाएक टायर विच्छाइएको हो ।
त्यसै गरी १३ सय २० मिटर क्षेत्रमा खोला तटबन्ध गरिएको छ । वडा नं.४, ५, ९, १०, ११, १४, १५ र १६ मा खोला तटबन्ध गरिएको हो ।
कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा ११ सय १९ वटा सडक बत्ती जडान गरेको छ । विभिन्न वडाहरूमा नयाँ जडान तथा मर्मत गरी सो सङ्ख्यामा सडक बत्ती व्यवस्थापन गरिएको हो ।
त्यसै गरी गत आवमा सात सय ३७ मिटर बरावरको मेस जाली सहितको तार बार गरिएको छ । त्यसै गरी ३० वटा चाप कल, १३ वटा सिचाई मोटर, २ वटा सोलार बत्ती जडान, ३२ वटा विद्युत् पोल बिस्तार, ३० वटा सिचाई वोरिङ्ग निर्माण तथा मर्मत, २२ हजार तीन सय ४२ मिटर खानेपानी पाइप लाइन विस्तार गरिएको छ । गत आर्थिक वर्षमा सडक तथा अन्य पूर्वाधार शाखा मार्फत कुल २६ करोड ८४ लाख ७९ हजार दुई सय ३२ रुपैयाँ बरावरको कार्य सम्पन्न गरिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया