नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ


विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी),  साउन १८ गते,।  बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कुल धान खेती गरिने १८ हजार सात सय १६ हेक्टर जमिन मध्य अहिले सम्म १७ हजार चार सय पाँच हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
“जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा करिब रोपाइँ सकिएको छ भने बौदीकाली र बुलिङटार गाउँपालिकामा केही रोपाइँ बाकी रहेको छ”,उहाँले भन्नु भयो ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लाको कुल खेतीयोग्य जमिन ६१ हजार तीन सय हेक्टर मध्य ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ पुगेको छ भने ४५ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ । यस वर्ष मौसम समयमा सक्रिय नहुँदा किसानले समयमा रोपाइँ गर्न नपाएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।
“मनसुन केही ढिला गरी सुरु भएको कारण समयमा सिँचाइ नहुँदा रोपाइँ गर्न बाँकी भएको हो”,उहाँले भन्नु भयो,“चैते धान लगाएको र मकै लगाइएका पहाडी क्षेत्रमा रोपाइँ गर्न ढिलो भएको छ ।”
आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले जिल्लाका केही ठाउँमा रोपाइँ हुन ढिलाइ भएको सूचना अधिकारी काफ्लेले जानकारी दिनु भयो ।
“यस वर्ष समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला भएकाले रोपाइँ गर्न ढिलाइ भएको हो”,उहाँले भन्नु भयो ।
जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवा लगायत हाइब्रिड जातका धान रोप्ने गरिएको छ । धानको उत्पादन सरदर प्रतिहेक्टर तीन टन हुने गरेको छ भने सिफारिस भएका जातमध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लमा खेती हुने गरेको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत वर्ष कुल १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ७७ हजार आठ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया