शालिन पोख्रेल मृत्यु प्रकरणः तीन जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति


चितवन, फागुन २१–

पूर्वीचितवनको रत्ननगर–१०, स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा एक बालिका मृत फेला परेको प्रकरणमा पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न चितवन प्रहरीले अनुमति पाएको छ ।

पहिलोपटक थपिएको ७ दिनको म्याद आज सकिएपछि प्रहरीले अदालतमा पेश गरेको थियो । अदालतले अनुसन्धानका लागि पुनः ४ दिनको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । विद्यालयको होस्टेलमा कक्षा ८ मा अध्ययन गर्ने छात्रा शालिन पोख्रेलले झुण्डिएर आत्महत्या गरेपछि उनका आफन्तले बलात्कारपछि हत्या भएको आरोप लगाएका थिए । आफन्तले किटानी जाहेरी दिए पछि फागुन १५ गते विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। गत फागुन १२ गते बिहान होस्टेलको पंखामा शालीन मृत फेला परेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शालीनको झुण्डिएर मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका थिए। तर आफन्तले हत्या दाबी गर्दै भरतपुरमा नभई काठमाडौं लैजाने अडान लिएपछि पोष्टमर्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको थियो ।

पोष्टमर्टमको रिपोर्ट आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा समेत आइपुगेको छ भने उक्त रिपोर्टमा हत्याको कारण झुण्डिएर नै भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया