गण्डकीमा साना दल निर्णायक


सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि गण्डकी प्रदेशमा पनि सरकार परिवर्तन हुने पक्का छ । दलहरुबिच यसबारे अनौपचारिक छलफलसमेत सुरु भइसकेको छ ।

सरकार बनाउन गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई सहज छैन । ६० सदस्यीय प्रदेशसभामा नेकपा (एमाले)को २२ र नेकपा (माओवादी केन्द्र) का आठ गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित कृष्ण धिताल हुनुहुन्छ । सभामुखले मत बराबरी भएमा मात्र मतदात गर्न पाउने कानुनी व्यवस्था छ । यसो हुँदा गण्डकीमा साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) निर्णायक हुने अवस्था छ । गण्डकीमा राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद हुनुहुन्छ ।

केन्द्रमा अहिलेको सत्ता गठबन्धनमा नरहेको राप्रपा प्रदेशमा सरकारमा जाने सम्भावना निकै कम छ । एकीकृत समाजवादीका सांसद राजीव गुरुङको पार्टी नयाँ गठबन्धनमा जाने/नजाने प्रष्ट भइसकेको छैन ।

प्रदेशसभामा नेपाली कांग्रेसका २७ सांसद छ । सत्ता गठबन्धनले बहुमत जुटाउन नसके नेपाली कांग्रेसले ठुलो दलको हैसियतमा सरकार गठन गर्ने अवस्था आउन सक्छ । यसरी बनेको कांग्रेस सरकारलाई पनि राप्रपा र एकीकृत समाजवादी दुवै साथ जरुरी हुन्छ ।

प्रतिक्रिया