आज मगर एकता दिवस मनाइँदै , नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा


मध्यविन्दु (नवलपरासी),१५ फागुन,
देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर बाहुल्यता रहेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत विभिन्न कार्यक्रमहरू हुँदै छन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिका स्तरीय कार्यक्रमको आयोजना गरेको मगर संघका इन्द्र फाल मगरले बताउनु भयो ।
मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिका स्तरीय मगर सङ्घ सँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घ संस्थाहरूले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उहाँले बताउनु भयो ।
विभिन्न कारणले लोपउन्मूख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसंख्याको ६ दशमलव नौ प्रतिशत हुन आउछ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठ वटै पालिकाले नेपाल मगर संघको ४२ औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठ वटै पालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा फागुन १५ गते मङ्गलवार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चार वटा गाउँपालिका र चार वटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता रहेको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले मङ्गलवार सार्वजनिक बिदा दिएका छन् ।
‘मङ्गलवार यहाँका सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ’, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया