मध्यविन्दु अस्पतालमा सामाजिक सेवा एकाइ प्रभावकारी बन्दै


कावासोती,  पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा स्थापना भएको सामाजिक सेवा एकाइ प्रभावकारी बन्दै गएको छ । विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, जनयुद्धका घाइते, बेपत्ता परिवार लगायतलाई सेवा दिने उद्देश्यले जिल्ला अस्पतालमा सञ्चालनमा आएको हो ।

आर्थिक अभावले अशक्त, अपाङ्गता भएका व्यक्ति, अति विपन्न परिवार कोही पनि स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर एकाइ स्थापना गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताउनुभयो । सामाजिक सेवा एकाइ स्थापनाले असहाय, अति विपन्न परिवारले विशेष लाभ लिएको उहाँको भनाइ छ । आवश्यकता, व्यक्तिको अवस्था र सामाजिक सेवा एकाइको मापदण्ड अनुसार सामान्य उपचारमा लाग्ने सबै खर्च समेत एकाइमार्फत बेहोर्ने गरी सेवा दिइएको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्ष २०८०/८१ साउनदेखि मङ्सिरसम्म ४३७ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । यसैगरी गत वर्ष २०७९/८० मा सामाजिक सेवा एकाइबाट आठ सय ४८ जनाले सेवा लिएका छन् । एक वर्षको अवधिमा यो सङ्ख्यामा सेवाग्राहीले सेवा लिएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । एक वर्षको अवधिमा सामाजिक सेवा एकाइबाट सेवा लिएकाहरूको लागि कुल रु. ७ लाख ९१ हजार ४९३ छुट गरिएको उहाँको भनाइ छ ।

जसमध्ये अति गरिब, विपन्न, प्रहरी केश, असहाय गरी पाँच सय ९१ जनाले रु. चार लाख ५२ हजार ८९८ उपचार खर्च लिएका छन् । ज्येष्ठ नागरिक उपचार खर्चतर्फ दुई सय ३९ जनाले रु.तीन लाख तीन हजार २२१ बराबरको उपचार खर्च सुविधा लिएका छन् । गरिब विपन्न तर्फबाट ज्येष्ठ नागरिकले उपचार सेवा लिएका हुन् ।

सूचना अधिकारी सुवेदीका अनुसार जनयुद्ध र जनआन्दोलनका शहीद परिवार, बेपत्ता परिवार, घाइते अशक्त, अपाङ्ग व्यक्तिहरूको निःशुल्क उपचारतर्फ १८ जनाले सेवा लिएका छन् । उनीहरूको उपचारमा लागेको खर्च बापत रु. ३५ हजार ३४७ बराबरको रकम सामाजिक सेवा एकाइ मार्फत भुक्तानी भएको सुवेदीले बताउनुभयो ।

यसैगरी साउनदेखि मङ्सिरसम्म सेवा लिएका ४३७ जनाले चार लाख दश हजार १२८ छुट प्राप्त गरेका छन् । अति गरिब, विपन्न, असहाय गरी चार सय २८ जनाले तीन लाख ८१ हजार १४४, दश वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकले ४ जनाले १९ हजार चार सय १५, सर्पदशं प्रयोगशालामा पाँच जनाले ९ हजार ५ सय ७०सामाजिक सेवा एकाइबाट असहाय व्यक्तिको सबै उपचार खर्च बेहोर्ने गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया