मध्यविन्दु नगरपालिकाको कार्यपालिका बैठक फोहोरमैला व्यवस्थापन केन्द्रमा


मध्यविन्दु (नवलपरासी), १९ पुस, 
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका नगर कार्यपालिकाको बैठक मध्यविन्दु–११ मा निर्माणाधीन फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा बसको छ ।
नगरपालिकामा नवप्रवद्र्धन कार्यक्रमको रूपमा निर्माणाधीन उत्पादन केन्द्रमा भईरहेको कार्यप्रगति र फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले गरिरहेको प्रयासहरू बारे आम नगरवासी सम्म सन्देश प्रवाह गर्न नगर कार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा सम्पन्न गरिएको मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
“बैठकले नगरपालिकाको सबै वडामा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ”,उहाँले भन्नु भयो,“फोहोरमैला व्यवस्थापन बारे आम नागरिकलाई सचेत बनाउने र सरसफाइ अभियानमा सहभागी गराउने उद्देश्य सहित अभियान सञ्चालन गर्ने कार्यपालिका बैठकले निर्णय गरेको हो ।”
बैठकमा नगर प्रमुख भिमलाल अधिकारीले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा निर्माणाधीन फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउनु भएको थियो । निकट भविष्यमा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
नगर कार्यपालिकाको बिहिवार सम्पन्न कार्यपालिका बैठकले विद्यालय सुधार र खानेपानीको पहुँच स्थापित गर्न दुई वटा अध्ययन समिति गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले नगर प्रवक्ता रणबहादुर थापाको संयोजकत्वमा सामुदायिक विद्यालय सुधार अध्ययन समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले जानकारी दिनुभयो । समितिमा नगर शिक्षा समिति सदस्यहरू लेखराज भण्डारी, भानुभक्त पगेँनी र अर्जुन खनाल सदस्य रहनु हुनेछ ।
कार्यपालिका बैठकमा नगर प्रमुख भिमलाल अधिकारीले विद्यालय सुधारको लागि माघ मसान्त भित्र स्पष्ट खाका सहितको अध्ययन प्रतिवेदन गर्नेगरी समिति गठनको प्रस्ताव गर्नु भएको थियो । उक्त प्रतिवेदनको आधारमा विद्यालय मर्जर तथा सुधारको कार्यक्रम सञ्चालन हुनेछ ।
यस्तै मध्यविन्दु नगरपालिकाको विभिन्न वडाहरूमा देखिएको खानेपानी सम्बन्धी समस्याको दीर्घकालीन व्यवस्थापनको लागि समेत नगर कार्यपालिकाले अध्ययन समिति गठन गरेको छ । विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी आयोजनाहरू प्रभावकारी बन्न नसकेको तथा पानीका स्रोतहरू सुख्दै जदा सृजना भएको समस्या समाधानलाई ध्यानमा राखेर वडा नँ. २ का वडा अध्यक्ष रामभक्त अधिकारीको संयोजकत्वमा उदयराज अर्याल, टिकाराम पाण्डे र कृष्ण भट्टराई सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो ।
“खानेपानी तथा उपभोक्ता समितिको समायोजन तथा सुधार सम्बन्धी सुझाव पेस गर्न गठन गरिएको समितिले माघ मसान्त भित्र आवश्यकताको आधारमा खानेपानी संस्थाहरू बीचको मर्जर तथा अन्य स्थानमा खानेपानी समिति गठन, पुनर्गठन लगायतको विषयमा प्रतिवेदन पेस गर्ने छ”, अधिकारीले भन्नु भयो ।
बिहीबारको कार्यपालिका बैठकले जेष्ठ नागरिक मञ्च गठन तथा सञ्चालन कार्यविधि–२०८० समेत पारित गरेको छ । यस्तै सडक पूर्वाधार सम्बन्धी एमटिएमपी अद्यावधिक गर्ने र नवप्रवद्र्धन कार्यक्रम सञ्चालन लागत सहमति प्रदान गर्ने विषयमा समेत निर्णय गरेको छ ।

 

प्रतिक्रिया