हिंसा अन्त्यको लागि महिला र बालिकामा लगानी आवश्यक छ : सरोकारवालाहरू


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८० को अवसरमा ” लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालिकामा लगानीको ऐक्यबद्धता” नारा सहित लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरणमा किशोरकिशोरी र आमा समूहको भूमिका विषयक छलफल कार्यक्रममा उपस्थित आमा समूह र किशोरीहरूले लगानीको सुनिश्चितता र प्राथमिकताले मात्र हिंसा अन्त्य गर्ने बताउनु भएको छ ।

विश्व भर आजबाट १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलान स्विजरल्याण्डको सहयोग, कावासोती वडा नं १५ को कार्यालय , नवलपुर किशोरी सञ्जाल र गुन्द्रही आमा समूहको समन्वयमा गरिएको कार्यक्रममा सो बताएका हुन ।

कार्यक्रममा अधिकारकर्मी राधा देवी बोटेले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सञ्चालनको आवश्यकता, बर्तमान समयमा महिला र बालिकाको अवस्था, हिंसा न्यूनीकरणमा आमा समूहले भूमिका निर्वाह गर्नु पर्ने कारणहरू सहित वर्तमान तथ्यांक अनुसार नेपालमा हिंसाको अवस्थाको बारेमा जानकारी दिनु भएको थियो ।

उक्त कार्यक्रममा लिंग र लैङ्गिकता भनेको के हो ? हिंसाका प्रकारहरू केके हुन् ? हिंसा तथा दुर्व्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ ? सम्पर्कका लागि हटलाईन नम्बरहरू केके हुन् ? हिंसा रोकथाम र न्यूनीकरणमा किशोरकिशोरी र आमा समूहले कसरी भूमिका निर्वाह गर्न सकिन्छ र केके काम गर्न सकिन्छ ? महिला र बालिकामा किन लगानी गर्नु आवश्यक छ? भन्ने विषयमा छलफल भएको थियो ।

साथै सहभागीहरूले म हिंसा गर्दीन, गरेको पनि सहन्न, हिंसा गरेको पाएमा उजुरी गर्नेछु भन्ने ऐक्यबद्धता सहित प्रतिबद्धता व्यानरमा हस्ताक्षर गर्नु भएको थियो । उक्त कार्यक्रममा गुन्द्रही आमा समूहको उपाध्यक्ष सरिता खतिवडाको अध्यक्षता रहेको थियो भने अन्य अतिथिहरूमा आमा समूहका अन्य पदाधिकारीहरू, अभिभावक, लक्ष्मी नारायण मन्दिर गुन्द्रही धामका अध्यक्ष मागन राम महतो, बजार व्यवस्थापक सदस्य महेश महतो, किशोरी साथी शिक्षकहरू, किशोरकिशोरी र सहजकर्ता राधा देवी बोटेको उपस्थितिमा भएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाका साथी शिक्षकहरू सविना पाण्डे, मान्सु न्यौपाने, शशि कार्की क्षेत्री र खिमा मुसहरले कार्यक्रमको विषयवस्तु बारे छलफल गर्दै सहजीकरण गर्नु भएको थियो । उक्त छलफल कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया