कावासोतीमा फूल र मालाको मूल्य निर्धारण


कावासोती, कात्तिक २४ गते । नवलपुरमा व्यावसायिक रुपमा गरिएको फूल र मालाको मूल्य निर्धारण कायम गरिएको छ । कावासोती नगरपालिकामा आयोजित सरोकारवालाको बैठकले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेको हो ।

विभिन्न स्थानमा फूलखेती गरिएको र बजारको मूल्य एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् । जिल्लामा रहेर फूल खेती गर्ने किसानले सयपत्री फूलको माला प्रतिगोटा खुद्रा मूल्य १०० देखि १३० रुपियाँ कायम गरिएको छ ।

सयपत्री फूल प्रतिकिलो पाँचसय कायम गरिएको कावासोती नगरप्रमुख विष्णुप्रसादसाद भुषालले बताउनुभयो । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहनेगरेको छ । जिल्लालाई यही उत्पादित मालाले पुग्ने भन्दै प्लाष्टिकजन्य र भारतीय मालाको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गर्नुभयो ।

जिल्लामा उत्पादित मालाबाट कृषकले राम्रो हुने अपेक्षा राखेका छन् । गत वर्ष जिल्लामा केही स्थानमा मात्र व्यावसायिक फूलखेती गरिएको भए पनि अहिले जिल्लामा अन्यत्रबाट फूल आयात गर्न नपर्ने कृषक बाबुराम केसीले बताउनुभयो । २० प्रतिशत माला गाउँघरमा आफैँ बनाउने गरेकाले यहाँको बजारलाई माला पर्याप्त हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीले दुःख गरेका छौँ, तर भारतीय माला बजारमा आउन सुरु भइसक्यो । कृषकले तिहारलाई लक्षित गरेर माला तयार गर्न लागेका छौँ ।” फूल र मालाको मूल्य निर्धाण भएको छ यसले कुनै किसान मर्कामा नपर्ने विश्वास लिएको नवलपुर उद्योग वाणिज्य सङ्घका महासचिव बुद्धिसागर पोख्रेलले बताउनुभयो ।

आयातित फूल र मालामा रोक 

नवलपुर जिल्लाका स्थानीय निकायले प्लाष्टिकजन्य माला बिक्री र भण्डारमा रोक लगाएका छन् । स्थानीयस्तरमा उत्पादित फूल तथा मालालाई प्राथमिकता दिँदै जिल्लाका कावासोती, मध्यविन्दु, देवचुली नगरपालिका, बौदिकाली गाउँपालिकाले तिहारमा लक्षित गरी प्लाष्टिकको फूलको माला विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

कावासोती नगरपालिकाले प्लाष्टिकजन्य फूलको गुच्छा उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णयसँगै बजार अनुगमनलाई तिब्रता दिएको छ । कावासोती नगरपालिकाले नेपालीको महान चाड तिहार, छठजस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला तथा पटकाजन्य विस्फोटक पदार्थको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गर्दैअनुगमन गरिएको हो ।

अनुगमनको क्रममा पहिलो पटक प्लाष्टिकजन्य फूलमाला बिक्री नगर्न अनुरोध गरिएको र पुनः अनुगमनको क्रममा भेटिए जफतगरी कानुनी कारवाही गरिने कावासोती नगरपालिकाका अनुगमन संयोजक दिनेश भण्डारीले बताउनुभयो । दैनिक उपभोग्य पसल समेत अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा लेबल नभएका, अखाद्यवस्तु समेत नियन्त्रणमा लिइएको अनुगमन समितिका संयोजक भण्डारीले बताउनुभयो । कावासोती हाटबजार डण्डाबजार अनुगमन गरिएको छ ।

मूल्यसूचीसहित व्यवसाय गर्न अनुरोध

नवलपुर उद्योग वाणिज्य सङ्घले चाडपर्व नजिकिएसँगै व्यवसायीले मूल्यसूचीसहित व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । बजारमा अनुचित मूल्यवृद्धि, खाद्यान्नमा मिसावट तथा अखाद्य वस्तुको बिक्री वितरणसँगै भन्सार छलीजस्ता कामहरू नगर्न, नगराउन अनुरोध गरेको छ ।

संस्थाका अध्यक्ष बैकुण्ठ अर्याल र महासचिव बुद्धिसागर पोख्रेल सागरद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशमा हाल देखिएको आर्थिक मन्दीका कारण स्वदेशी उद्योग तथा व्यावसायिक फर्महरू दिनानुदिन बन्द हुने अवस्थामा रहेकाले व्यवसाय नवीकरणको म्याद थप, व्यवसाय कर, घरबहाल कर, सरसफाइ करमा लाएको दर रेटलाई घटाउन, छुट दिन, घरधनीहरू समेत घर बहाल घर भाडामा छुट तथा म्याद थप गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया