गैँडाकोटमा इन्टरनेटका तार व्यवस्थित गर्न सर्वपक्षिय छलफल


प्रेम क्षेत्री,गैँडाकोट, भदौ १०, गैँडाकोट वडा नम्बर ६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आज सर्वपक्षिय छलफल गरेको छ । वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनिका प्रतिनिधिबीच सर्वपक्षिय छलफल गरेको हो । भेलाले सेवा प्रदायक कम्पनिलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र यहि भदौ २१ गते कालिकाचोकदेखी तार व्यवस्थापन एवं अनावश्यक तार काट्ने निर्णय गरेको छ ।
वडाको सौन्दर्य नै बिग्रने गरी तार छरपष्ट भएको, घर नजिकका पोलहरुमा रहेका तारका कारण कुरुप देखिएको, पटक–पटक आगलागीको सामना गर्नुपर्नेको, लत्रिएका तारमा अड्किने जस्ता जोखिम रहेकोले व्यवस्थित गर्न लागिएको वडा अध्यक्ष शुभाष चापागाईंले बताउनुभयो । यसअघि अव्यवस्थित तार काटिने ३५ दिने सूचना जारी गरिसकिएको जनाउँदै उहाँले सेवा प्रदायक कम्पनिलाई ब्यवस्थित गर्न आग्रह गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले बिजुलीका तार भन्दा १ मिटर तलबाट तार राख्नुपर्ने प्रावधान भएपनि टेलिकम, केबुल र इन्टरनेट प्रदायक कम्पनीले सो नियम पालना नगरेको बताउनुभयो । अधिकांश स्थानमा बिजुलीका पोलमा आगलागी हुने कारण भनेको बिजुलीको तार नभइ इन्टरनेटका तार देखिएको उहाँको भनाई थियो ।
नेपाल टेलिकम गैँडाकोट शाखा प्रमुख अर्जुन लामिछानेले यस्ता तार पुनः प्रयोग पनि नहुने र नष्ट पनि नहुने भएकाले पहिले नै सचेत बन्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस गैँडाकोट ६ का सभापति प्रकाश भूसालले प्रयोगमा नरहेको तार काटेर फाल्ने र प्रयोगमा आएकालाई संकेत चिन्ह लगाउनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति कुशल अधिकारीले पोलमा रहेका तार सेवाग्राहीको सम्पत्ति भएका कारण वडाबासीले चाहे हटाउन सकिने बताउनुभयो । उपस्थित स्थानीयले इन्टरनेट अपरिहार्य आवश्यकता भएको तर यसलाई भूमिगत वा व्यवस्थित गर्न सुझाव दिएका थिए ।
उपस्थित सेवा प्रदायक कम्पनिका प्रतिनिधिहरुले इन्टरनेट सोसाइटी स्पाममा आवद्ध सेवा प्रदायक नियमसँगत नै रहेको र अन्यले गर्दा दोष पाएको बताएका थिए । उनिहरुले संकेत चिन्ह राखिनु राम्रो रहेको बताएका छन् । स्थानीयले घर अगाडी लगाएका बोटबिरुवाका कारण, विद्युतका पोल होचो भएका कारण र फिल्डमा काम गर्ने कामदारका कारण समस्या रहेको बताएका थिए । वडाले गर्ने काममा सहयोग रहने उनिहरुको भनाइ थियो । टेकमाइन्ड, वर्ड लिंक, सुविसु, सिजी, चित्रवन नेट लगायतका कम्पनिबाट प्रतिनिधिको उपस्थिति रहेको थियो ।
वडा कार्यालयले भाद्र १५ गतेदेखि तारहरु सफाइ गरिने जनाउँदै इन्टरनेट सेवा प्रदायकहरुलाई आ–आफ्ना केबुल पहिचान संकेत हरेक पोलहरुमा रहेको जक्सन बोर्ड तथा तारमा प्रयोग गर्न सूचना जारी गरेको थियो । निर्धारित समयभित्र उक्त कार्य नगरेमा संकेत तार बाहेकका अन्य सबै हटाइने बताइएको छ ।

प्रतिक्रिया