प्रतिनिधिसभामा मतदान आज , ओली सरकारकाे भविष्य निर्धारण हुने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा आज दिउँसो मतदान हुँदैछ । दिउँसो १ बजेपछि हुने मतदान प्रक्रियाले ओली सरकार टिक्ने कि ढल्ने भन्ने छिनोफानो गर्नेछ । अहिलेसम्मको अवस्था हेर्दाखेरि प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउने सम्भावना बढेको छ ।

प्रतिनिधिसभामा मतदान गर्नुपर्ने सदस्यहरुको संख्या २६६ रहे पनि अस्पतालमा रहेका झलनाथ खनाल कोरोनाका कारण झापामा आइसोलेसनमा रहेका राप्रपा सांसद राजेन्द्र लिङदेनले मतदानमा सहभागिता जनाउने सम्भावना छैन । अन्य केही सांसदहरुको पनि अनुपस्थिति हुन सक्छ । किनकि, चौथो ठूलो दल जसपाले आफ्ना सांसदहरुलाई ह्विप नलगाउने र तटस्थ बस्न सक्ने भनेको छ ।

प्रधानमन्त्री ओलीले संसदमा हाल कायम रहेका २७१ सांसदमध्ये बहुमतका लागि १३६ मत प्राप्त गर्नुपर्ने हुन्छ । १३६ मत प्राप्त गर्न नसके प्रधानमन्त्रीले संसदको विश्वास गुमाउने छन् र पदमुक्त हुनेछन् ।

अहिलेसम्मको संसदीय गणितलाई हेर्दा एमालेसँग १२१ भोट छ । यसमा १५ मत अन्य दलबाट ल्याउनुपर्ने हुन्छ । जबकि जसपाले तटस्थ बस्ने निर्णय नै गरिसकेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना लगभग टर्दै गइरहेको छ ।

नेकपा एमालेकै माधव–झलनाथ समूहले सामुहिक राजीनामा दिने तयारी गरिरहेको छ । सो समूहले राजीनामा दियो भने केपी ओलीले बहुमत पाउने सम्भावना रहनेछैन । माधव समूहले केपी ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिए पनि ओली पक्षबाट यसको प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया