पुस्तकालयमा पाठकको सङ्ख्या घट्दो


मीना कंडेल,कावासोती,  कुनै समय खचाखच भीड लाग्ने पुस्तकालयमा पछिल्लो समय पाठकको चाप शुन्य जस्तै बन्न थालेको छ । पुस्तकालयप्रति पाठकको आर्कषण घट्दो छ ।

जिल्लाका विभिन्न स्थानमा दर्जनौँ पुस्तकालय छन् । योसँगै विद्यालय/क्याम्पसले पनि पुस्तकालय खोलेका छन् । विद्यालय र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्नेबाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने व्यक्तिको सङ्ख्या शून्य जस्तै भएको छ । पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र युट्युवमार्फत नयाँपुराना पुस्तक पढ्न र सुन्न पाइने भएकाले पनि पुस्तकका पाठक घटेको पुस्तकालयहरुले जनाएको छ ।

नवलपुरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा आएर पुस्तक पढ्नेको सङ्ख्या दिन प्रतिदिन घटिरहेको अग्यौली सामुदायिक पुस्तकालय कावासोती १६ का लाइब्रेरिएन चेतना रसायलीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबैको हात हातमा मोबाईल, ल्याप्टप छ । आधुनिकतातर्फ समाज अघि बढिरहेको छ, जे हेरेपनि वा पढेपनि इन्टरनेटबाट खोज्दा पाईन्छ त्यसैले पनि होला पुस्तकालयमा आएर पुस्तक पढ्ने फुर्सद नै छैन ।”

कावासोती १६ अग्यौली सामुदायिक पुस्तकालयमा नेपाली, अङ्ग्रेजी भाषा साहित्यसँगै इतिहास, धर्म, संस्कृति र व्याकरणसँग सम्बन्धित नयाँ पुराना गरी तीन हजारभन्दा धेरै पुस्तक छन् । तर पुस्तकालयमा आएर पुस्तक पढ्नेको सङ्ख्या दिनप्रतिदिन घटिरहेको उहाँले बताउनुभयो । अग्यौली सामुदायिक पुस्तकालयमा पहिला दैनिक ४०-५० जना आउने गरेको भएपनि अहिले मुश्किलले दिनमा ५,६ जना मात्र आउने गरेको उहाँको भनाइ छ ।

यस्तै विजय सामुदायिक स्रोत पुस्तकालयमा पाठक शून्य अवस्थामा छ । एक दशकदेखि पाठकको मन जित्दै आएको उक्त पुस्तकालयहरुमा पुस्तकसँगै अन्य विधामा रमाउने बालबालिकाहरुका लागि पनि पाठक स्रोता र दर्शकको रुचिलाई ध्यान दिँदै श्रव्य, दृश्य उपकरण पनि राखिएको छ । तर ती उपकरणहरु प्रयोगविहिन भइरहेका छन् । विजय सामुदायिक पुस्तकालयमा एक जनापनि नआउने गरेको र धेरैजसो शून्य संख्यामा पाठक आउने गरेको विजय सामुदायिक सुजन पौडेलले बताउनुभयो ।

ग्रामीण भेगमा समेत पुस्तकालय तथा सूचना केन्द्रहरु स्थापना गरेर स्वअध्ययनको संस्कृतिलाई बढवा दिनसक्ने हो भने पुस्तकालयको सकारात्मक प्रभावका कारण समाज रुपान्तरणमा सशक्त काम गर्न सकिने बद्रि नेपालले बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालय नवलपुरमा नागरिक प्रहरी पुस्तकालयको स्थापना गरिएको छ ।

नागरिक र प्रहरीबिचको समन्वयलाई सुदृढ गर्न र बाह्य ज्ञानको सीमालाई बढाउनको निमित्त ‘नागरिक प्रहरी पुस्तकालय’ को स्थापना गरिएको भएपनि प्रभावकारी नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको ‘नागरिक प्रहरी पुस्तकालय’मा ऐन कानुन सम्बन्धि, साहित्य, कृतिका विभिन्न विधाका करिव आठ सय पुस्तक राखिएको छ । यहाँ कार्यरत प्रहरीले आफ्नो फुर्सदको समयमा पुस्तक पढ्ने गरेतापनि सर्वसाधारण जो काम विशेषले वा विभिन्न प्रकरण आउनुहुन्छ उहाँलाई समयको सदुपयोग गर्नका लागि पुस्तक पढ्ने बानीको विकास गनुपर्छ ।”

जिल्ला प्रहरी कार्यालय सहित ५ प्रहरी युनिटका हिरासतमा रहने थुनुवाका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा “हिरासतमा किताव” कार्यक्रम अन्तर्गत हिरासतमा पुस्तकालय सञ्चालन गरिएको छ ।

प्रतिक्रिया