धिमे, मादल र झ्याली सिक्दै कावासोतीका नेवार युवा


विष्णुप्रसाद गौडेल,कावासोती,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ का रविन श्रेष्ठ यतिखेर धिमे बाजा बजाउन सिक्दै छन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न लाग्ने गरेको उनको विगतको अनुभव छ । तर, अहिले उनी निक्कै खुशी छन् ।
सोही स्थानकी आकृति श्रेष्ठलाई पनि आफ्नो समुदायको पौराणिक धिमे,मादल र झ्याली बाजा बजाउन सिक्न थालेको केहि हप्तामा नै सहज लाग्न थालेको अनुभव छ । “आफ्नो समुदायको बाजा बजाएको टेलिभिजनमा मात्र देखेको थिए तर, अहिले मलाई नै यी बाजा बजाउन आउँछ”उहाँले भन्नु भयो ।

यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहेपनि स्थानीय सुनिता श्रेष्ठले आफैं अग्रसर भएर यो बाजा बजाउन सिकेको बताउनु भयो । कक्षा १२ को परिक्षा दिएर बसेको खालि समयमलाई आफ्नो धर्म संस्कृती जगेर्ना गर्न सदुपयोग गरेको उहाँको भनाई छ । “अव नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै धिमे बाजा बजाउन सक्ने भएको छु” उहाँले भन्नु भयो ।
आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सुनिता,आकृति र रविनसहित झण्डै २० जनाले यो बाजा बजाउन सिकेका छन् । शुरू–शुरूमा धिमे बाजा बजाउन असहज भए पनि अहिले यो बाजा बजाउँदा आनन्द आउने गरेको अर्का प्रशिक्षार्थीहरुको भनाई छ ।

शिका नेवाः गुठी कावासोतीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको ४५ दिने तालीममा सहभागी भएर स्थानीय युवाहरु बाजा बजाउन सिकेका छन् ।
देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै गएको महसुस गरेका कावासोतीका नेवार समुदाय अहिले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका हुन् ।


आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने पहलस्वरुप स्थानीय नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेका छन् । यसका अतिरिक्त यस समुदायका युवालाई बाध्य बादनसम्बन्धी प्रशिक्षण समेत सञ्चाल गरिएको शिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताउनु भयो ।
“धिमे बाजा नेवार समुदायमा शोक बाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि बाजाको संरक्षण गर्ने अभियान थालिएको हो”उहाँले भन्नु भयो ।
पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहेपनि राज्यले त्यसमा खासै सहयोग नगरेको गुनासो अध्यक्ष श्रेष्ठले गर्नु भयो ।
‘धिमे बाजा’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन रहेको शिका नेवाः गुठीका सास्कृतिक समुह सयोजक रोशन कुमार श्रेष्ठले बताउनु भयो ।
“नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गरिन्छ”उहाँले भन्नु भयो “अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला बाजा संरक्षणमा जुटेका हौँ ।”
एक पुस्ताबाट अर्काे पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने लक्ष रहेको श्रेष्ठले बताउनु भयो ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको प्रशिक्षक विश्वास श्रेष्ठले बताउनु भयो ।“युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो, अहिले धेरै राम्रो काम भएको छ” उहाँले भन्नु भयो “युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा यो उत्साह सराहनीय छ ।”
खासगरी धिमे, मादल र झ्याली पहिले पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको अर्का प्रशिक्षक सुस्मा श्रेष्ठले बताउनु भयो ।
नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दशैं, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन रहेको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया