नारायणगढ– बुटवल सडक खण्ड : घाम लाग्दा धुलो, पानी परे हिलो


नवलपुर । चार लेनमा बिस्तारको क्रममा रहेको नारायणगढ – बुटवल सडक खण्ड घाम लाग्दा धुलो र पानी पर्दा हिलोले गर्दा यात्रा सास्तीपूर्ण हुने गरेको छ । बिस्तारको काम सुरु भएपछि यो समस्या यस खण्डमा यात्रा गर्ने यात्रुले भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोती देखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ ।
यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका कारण पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था रहेको छ । कतिपय पुलहरू निर्माणको क्रममा रहेका छन् । जसका कारण डाइभर्सनबाट सवारी पास गर्नुपर्ने अवस्था छ । डाइभर्सन निर्माण गरिएको स्थानमा रातोमाटो हुँदा पानी पर्न साथ बाटो चिप्लो भएर यातायात सञ्चालनमा कठिनाइ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताउनुभयो ।निर्माणको जिम्मा पाएको चाइना स्ट्रेट कर्पोरेसनले भने वर्षा शुरु हुनुपुर्व धेरै स्थानका पुल निर्माण सम्पन्न गरि डाइभर्सनबाट यात्रा गर्नुपर्ने अवस्था अत्य गरिने दाबी गरेको छ। आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार केही दिन भित्रमा निर्माण सम्पन्न भएका पुलहरू सञ्चालन गर्ने गरि काम गरिएको छ । पानी पर्दा राजमार्ग बन्द नहोस् भनेर सम्भावित त्यस्ता स्थानमा कामलाई तिव्रता दिइएको उहाँले बताउनुभयो ।प्रोजेक्ट म्यानेजर झाका अनुसार नवलपुर खण्डमा हाल सम्म दुवै तर्फ गरि जम्मा १४ किलोमिटर कालोपत्रेको काम सकिएको छ । हाल कावासोती – डण्डा क्षेत्रमा कालोपत्रे गर्ने योजना अनुसार काम अघि बढिरहेको छ ।
विधुतका पोल तथा ट्रान्सफरमर हटाउन ढिला हुँदा बजार क्षेत्रको कामलाई छिटो गर्न समस्या भएको उहाँले बताउनुभयो । “राजमार्ग क्षेत्रमा ट्रान्सफरमर हटाउन तालिका मिलिरहेको छैन, बिदाको दिनमा मात्रै लाइन काटी काम गर्नुपर्ने अवस्था छ ,यसले कामलाई अल्झाएको छ“ झाले भन्नुभयो । नारायणगढ – बुटवल सडक बिस्तार आयोजना विसं. २०७५ अघि बढेको थियो।एक सय १४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनलाई जिम्मा दिइएको थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो भदौ सम्मका लागि म्याद थप गरिएको छ । यस अवधिमा आयोजनाको करिब ५० प्रतिशत काम मात्रै सम्पन्न हुने अवस्था छ । हाल सम्म पूर्वी खण्डमा जम्मा ३८ दशमलब ५९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ । नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ ।
सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरि एसियाली विकास बैंकको ऋण सहयोगमा आयोजना अघि बढाइएको हो ।

प्रतिक्रिया