नवलपरासीपूर्वमा यस्तो छ आसन्न निर्वाचनको तयारी


मध्यविन्दु,(नवलपरासी पूर्व),२८ कात्तिक (रासस)
मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नवलपरासी पूर्वमा तयारी तिव्र गतिमा अगाडी बढीरहेको छ । निर्वाचनका लागि आबश्यक सम्पुर्ण कार्यहरु तिव्र गतिमा अगाडी बढीरहेको जिल्ला स्थित सरोकारवाला निकायहरुले बताएका छन् । निर्वाचनलाई निष्पक्ष , स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकायहरु , मुख्य निर्वाचन अधिकृतको कार्यालय , जिल्ला प्रशासन कार्यालय लगायतले अन्तिम तयारी गरिरहेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भन्नु भयो “निर्वाचनको सम्पुर्ण तयारी अन्तिम अबस्थामा पुगेको छ , आबश्यक सुरक्षाको प्रबन्ध सबैं मतदान केन्द्रमा भईसकेको छ ।” नवलपरासी पूर्वमा निष्पक्ष र भयरहित तवरले निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय प्रतिवद्ध रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । निर्वाचनलाई मध्यनजर गर्दे जिल्लामा सरक्षाको व्यवस्था मजवुत रहेको उहाको भनाई छ । उहाका अनुसार जिल्लामा नेपाली सेना , नेपाल प्रहरी, शशस्त्र प्रहरी , म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित छन् । सुरक्षा व्यवसथालाई मध्यनजर गर्दे आबश्यक परेको खण्डमा मतदान अधिकृत , कर्मचारी मतपत्र लगायतको सुरक्षाको लागि मतदान केन्द्रमा थप प्रहरीहरु परिचालन हुने बताउनु भयो ।


मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम सम्पन्न
जिल्ला भित्रको मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । सवै मतदान अधिकृतहरुलाई नियुक्ती पत्र दिई शुक्रबार र शनिबार दुई वटै निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनु भयो । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासी पूर्वमा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र रहेका छन् ।
मतदान अधिकृलाई निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउने सम्मको प्रक्रिया लगायत विषयमा अभिमुखीकरण दिइएको जनाइएको छ  ।
निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो ।
निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिएको छ ।


पालिकामा नमुना मतदान
बदर मत कम गर्ने उदेश्यले जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले आठ वटै पालिकामा नमुना मतदान कार्यक्रम गरेको छ । विद्यार्थि तथा स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम संचालन गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका पदाधिकारीहरु र केही स्थानीयको सहभागितामा नमुना मतदान सञ्चालन भएको थियो । मतदाता प्रशिक्षण कार्यक्रम प्रभाबकारी नभएको जनगुनासो आइरहदा उच्च शिक्षा हासिल गर्ने विद्यार्थि तथा स्थानियलाई लक्षीत गरी नमुना मतदान गर्न सिकाईएकाले विद्यार्थिहरुले आफु र आफ्नो परीवारलाई मतदान गर्न सिकाउने अपेक्षाका साथ नमुना मतदान कार्यक्रम संचालन गरेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुसालले बताउनुभयो । नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।

प्रतिक्रिया