अमेरिकामा कोरोनाका कारण आठ लाख बढीकाे मृत्यु


काठमाडाैं – अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या आठ लाख जना नाघेको छ । कोरोना संक्रमणका कारण हिजोसम्म अमेरिकामा आठ लाख चार सय जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । अमेरिकामा अहिलेसम्म पाँच करोड जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा कोरोनाका कारण पहिलो व्यक्तिले ज्यान गुमाएको ६ सय ५० दिनमा ८ लाख जनाको ज्यान जानुले निकै भयावह अवस्था देखाएको जनस्वास्थ्य विज्ञहरुलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । ज्यान गुमाउनेमध्ये धेरैजसो बृद्धबृद्धा र खोप नलगाएका नागरिक रहेका छन् ।

जोन्स हप्किन्स ब्लुमबर्ग विश्वविद्यालयका महामारीविद् डाक्टर केरी अल्थोपले कोरोनाविरुद्ध नागरिकको प्रतिरोधात्मक क्षमता नबढाएसम्म नयाँ लहर र मृत्युलाई रोक्न नसकिने बताए ।

अमेरिकामा कोरोनाका कारण दोस्रो विश्वयुद्धमा भन्दा दोब्बर धेरै नागरिकको ज्यान गएको खबरमा उल्लेख छ । अमेरिकापछि सबैभन्दा धेरै ब्राजिलमा ६ लाख १६ हजार र भारतमा चार लाख ७५ हजार जना भन्दा धेरैको ज्यान गएको छ । बीबीसी

प्रतिक्रिया