आफ्नो फोहोर आफ्नै पकेटमा अवधारणा सम्बन्धी अभिमुखीकरण कावासोतीमा सम्पन्न


कावासोती,कावासोतीका बालबालिकाहरूलाई आफूले आफ्नो फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
द गार्डेन अफ होप फाउन्डेसन ताइवानद्वारा सञ्चालित एसियन गर्लस् इन एक्सन प्रोजेक्ट २०२४ अन्तर्गत कावासोती नगरपालिका वडा नम्बर ६ निवासी किशोरी अभियन्ता सवनम सुनार सहभागी भएर आय पछि उहाँले सो परियोजना अन्तर्गतका गतिविधिहरू अन्तर्गत आज कावासोती नगरमा सो कार्यक्रम सम्पन्न गर्नुभएको उहाँले बताउनु भयो ।
कावासोती नगरपालिका नगर बाल सञ्जालका बालबालिकाहरू र अन्य बाल क्लबमा रहेका पदाधिकारीहरूलाई “greening pockets, a step towards revolution” नाम राखी अभियान सुरु गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा किशोरी अभियन्ता सवनम सुनारले ताइवानमा यही १४ जुलाई देखि २१ जुलाई सम्म आयोजना भएको पावर क्याम्पमा भएका गतिविधि, सिकाई र अनुभवहरूको बारेमा प्रस्तुतीकरण गर्दै आफूले सञ्चालन गर्न लागिरहेको प्रोजेक्ट अन्तर्गतका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिनु भएको थियो ।
उहाँले वातावरण संरक्षणका लागि आफ्नो घर समुदायमा विभिन्न प्रकृतिका फोहोरहरूलाई व्यवस्थापनका लागि सर्वप्रथम आफूबाट नै सुरुवात गर्न आवश्यक रहेको कुरा बताउँदै आगामी दिनमा बालक लवका पदाधिकारीहरूले  आफ्नो जिम्मेवारीलाई बुझेर यो अभियानमा हातेमालो गर्न अनुरोध गर्नु भएको थियो ।
बालबालिकाहरू नै परिवर्तनका अभियानकर्ता भएकोले यो सबै बालबालिकाको अभियानको रूपमा सबै ठाउँमा सुरुवातको लागि पहल गर्न समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत राधा देवी बोटेले वातावरण संरक्षण र विभिन्न प्रकृतिका फोहोर मैला कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सन्दर्भमा विद्यालयको पाठ्यपुस्तकमा अध्ययन गरेता पनि यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न नसकिरहेकोले  बाल सञ्जालका प्रतिनिधिहरूले आ-आफ्नो सञ्जाल र विद्यालय र घरमा  विभिन्न कार्यक्रम गर्न आवश्यक रहेकोले यसको नेतृत्व गर्न बताउनु भएको थियो ।
अबको पुस्ताको लागि पनि हामी सबै जना सगसगै रहनु पर्ने हुँदा यो अभियान सबैले अनुसरण गरी आफूले सकेको कामहरू गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश बाल परिषद्का सदस्य प्रशान्त अर्यालले आफूले अन्तर्राष्ट्रिय स्तरमा गएर जानेको कुरा सिकाउनका लागि नगरपालिकामा बालबालिकाहरूलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै आगामी दिन वातावरण संरक्षणका लागि फोहोर मैला व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने यो अभियान अन्तर्गत सञ्चालित हुने कार्यक्रममा बाल सञ्जालले पनि समन्वय गरेर सहयोग गर्ने कुरा बताउनु भएको थियो ।
सो  कार्यक्रमका अध्यक्ष कावासोती नगर बाल सञ्जालको अध्यक्ष एलिसा पन्थीले बाल सञ्जालको तर्फबाट पावर क्याम्प अन्तर्गतको कार्यक्रमहरूलाई सफल बनाउनका लागि कुन चरणमा कसरी गर्नुपर्नेछ भन्ने सन्दर्भमा आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा वडा बाल सञ्जाल, नगर बाल सञ्जाल, जिल्ला बाल सञ्जाल र गण्डकी प्रदेश बाल परिषद्का  विभिन्न प्रतिनिधिहरू र किशोरी अभियन्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्नो फोहोर आफ्नो पकेटमा राखी व्यवस्थापन गर्ने बानीको विकास आजबाट नै सुरु गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
उक्त कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपाल, कावासोती नगर बाल सञ्जाल,  नगर युवा सञ्जाल, जिल्ला बाल सञ्जाल, गण्डकी प्रदेश प्रदेश बाल परिषद्को समन्वयमा गरिएको थियो
उक्त कार्यक्रममा ४० जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया