विज्ञान शिक्षक समाज नेपाल(स्टान) नवलपुरले राष्ट्रिय विज्ञान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने


कावासोती । विज्ञान शिक्षक समाज नेपाल (स्टान) नवलपुरले राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर एक महिनासम्म विभिन्न कार्यक्रम गर्ने भएको छ ।

स्टान नवलपुरले शनिबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै एक महिनासम्म गरिने कार्यक्रमका बारेमा जानकारी गराएको हो । स्टान नवलपुरका अध्यक्ष मोहन भण्डारीले प्रत्येक वर्ष असोज एक गतेका दिन मनाइने राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर भदौ महिनाभरि जिल्लाका आठवटै पालिकाहरूमा विज्ञानसँग सम्बन्धित कार्यक्रमहरू, आइटम लेखन, पाठ्यक्रम प्रबोधिकरण, विज्ञान शिक्षण विधि, विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्री निर्माण कार्यशाला जस्ता कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय विज्ञान दिवसका दिन असोज एक गते “नवलपुर विज्ञान आवाज” नामक स्मारिका पत्रको विमोचन गर्ने कार्यक्रम सहित समापन गरिने बताउनुभयो । भदौ महिनाभरि गरिने कार्यक्रमहरु सार्वजनिक विदाको दिन पारेर गरिने उहाँले जानकारी दिनुभयो । जिल्लाका आठवटा पालिकाहरूमा रहेका शिक्षा शाखासँगको समन्वयमा शिक्षा शाखाले तोकेको स्थानमा कार्यक्रम हुने उहाँले बताउनुभयो ।

स्टान नवलपुर २०८० चैत महिनामा मात्रै नवलपुरमा स्थापना भएको हो । स्थापना भएलगत्तै स्टानले नवलपुरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र विज्ञान शिक्षकहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञान कार्यक्रममा भाग लिने अवसर समेत प्राप्त गरेको उहाँले बताउनुभयो ।

विज्ञान विषय गाह्रो विषय हो भन्ने भ्रम समुदायमा अझै पनि व्याप्त रहेको हुँदा त्यस्ता भ्रमलाई चिर्न र विज्ञान विषय जो कोहीले पनि पढ्न सक्छ भन्ने चेतना जगाउनका लागि पनि यस कार्यक्रमले मद्दत गर्नुका साथै विद्यार्थी र नव आगन्तुक शिक्षकहरुलाई पनि यो कार्यक्रमबाट विज्ञानका बारेमा धेरै विषयवस्तुका बारेमा ज्ञान हासिल गर्न सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पौडेलले नवलपुर जिल्लामा विज्ञान र प्रविधीको क्षेत्रमा शैक्षिक सुधार गर्नका लागि गर्न खोजिएको यस कार्यक्रमले राम्रो सन्देश दिने बताउनुभयो । पाठ्यक्रमसँग सम्बन्धीत सक्षमतालाई कसरी हासिल गर्न सकिन्छ र वैज्ञानिक सोध खोजको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा शिक्षक र विद्यार्थीका लागि यस कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा स्टान नवलपुरका उपाध्यक्ष दिपक बहादुर विष्टले विज्ञानसँग सम्बन्धीत सिकाई उपलब्धीलाई कसरी बढाउन सकिन्छ त भन्ने प्रश्नलाई समाधान गर्ने उद्देश्यले नवलपुरका विज्ञान शिक्षकहरुले नवलपुरबाट सुरुवात गर्ने जमर्को गरेको बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउनका लागि सरोकारवाला सबै निकायलाई साथ सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रमम स्टान नवलपुरका सचिव प्रकाश भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया