मध्यविन्दु नगरपालिकामा किसानलाई अनुदानमा कृषि एम्बुलेन्स


कावासोती, जेठ ६ गते । नवलपुरको मध्यविन्दु नगरपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । मध्यविन्दु नगरपालिका–१ पतवारिमा अवस्थित प्रकृति कृषि सहकारी संस्थालाई ७० प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज ढुवानीका लागि आर्थिक वर्ष २०८०-०८१ को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो । लागत मूल्यको ७० प्रतिशत रकम नगरपालिकाले लगानी गरेको छ भने बाँकी ३० प्रतिशत रकम प्रकृति कृषि सहकारी संस्थाले व्यहोरेको छ । एम्बुलेन्सको लागत ‘भ्याट’सहित २२ लाख १५ हजार रहेको छ ।

मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, वार्ड नं २ का वडा अध्यक्ष रामभक्त अधिकारी, वार्ड नं ४ का वडा अध्यक्ष डिल्लीराम महतो लगायतले सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद काफ्लेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुख भीमलाल अधिकारीले गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको बताउनु भयो । उहाँले भन्नुभयो, “यसले किसानको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पुर्‍याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यत्तिकै खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौँ ।”

नगरमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै किसानले आफ्नो उत्पादन बजारीकरणका लागि सङ्कलन केन्द्र, थोक बजारसम्म ढुवानी गर्न सहज र सर्वसुलभ हुनेमा नगरप्रमुख अधिकारीले विश्वास व्यक्त गर्नुभयो । एम्बुलेन्स सञ्चालनमा आएसँगै वडा नं १, २ र ३ वडाका किसान लाभान्वित हुने जनाइएको छ ।

प्रतिक्रिया