प्रजातन्त्र सेनानी नेपालको निधन


मध्यविन्दु(नवलपरासी),२६ भदौ,
प्रजातन्त्र सेनानी एवम् नेपाली काँग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोग्नु भएका नेपालको ८४ वर्षको उमेरमा गएराती निधन भएको हो ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल विंस.२०३० सालदेखि २०३४ सालसम्म नेपाली काँग्रेस नवलपरासीको जिल्ला सभापति हुनु भएको थियो । विंस. २००७ सालको क्रान्तिका योद्धा नेपाल जिल्लामा निष्ठावान राजनीतिज्ञका रुपमा परिचित रहनु भएको नेपाली काँग्रेस नवलपुरका उप–सभापति चन्द्रबहादुर रानाले बताउनु भयो ।
“२०१७ सालमा राजा महेन्द्रले कु गरे पछि नेताहरु सँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको संगठन निर्माणमा जुट्नु भएको थियो” उहाँले भन्नु भयो “वि.स २०३५ सालमा संघसंस्था नियन्त्रण ऐन अन्तर्गत तात्कालिन पन्चायती सरकारले गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।”
उहाँका एक छोरा, दुई छोरी र दुई श्रीमति रहेका छन् ।
यसै बिच नेपाली काँग्रेस नवलपुरले प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको निधनको शोकमा पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिन सम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको जिल्ला सचिव होमराज रानाभाटले बताउनु भयो ।

प्रतिक्रिया