नवलपुरमा जापानिज ईन्सेफलाईटिसबाट एक जनाको मृत्यु
कावासोती,१९ भदौ, नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाईबाट लाग्ने रोग ‘जापानिज ईन्सेफलाईटिस’बाट एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका २ निवासी महिलाको जापानिज ईन्सेफलाईटिसबाट निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनु भयो ।
“जिल्लामा चालू आर्थिक बर्षमा दुई जना महिलामा जापानिज ईन्सेफलाईटिस पुष्टि भएको मध्य एक जनाको निधन भएको छ”उहाँले भन्नु भयो “एक जनाको भरतपुरमा उपचार भईरहेको छ ।”
गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा पाँच जनाको जापानिज ईन्सेफलाईटिस बाट मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । गत आर्थिक वर्षमा सात जनामा संक्रमण पुष्टि भएको मध्य पाँच जनाको मृत्यु भएको हो । जिल्लामा गत आर्थिक वर्ष वाट जापानिज ईन्सेफलाईटिस फेला परेको प्रमुख चापागाईंले बताउनु भयो । जिल्लामा रोग देखिएपछि स्थानीय तहमार्फत् जनचेतनामा मूलक अभियान सञ्चालन गर्न थालिएको उहाँले बताउनु भयो ।
“जापानिज ईन्सेपलाईटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो, यी लामखुट्टेहरु मध्यम आकारका, खैरो रंगको र पेटतिर भने सेतो चिन्हहरु भएका हुन्छन्,तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन्” उहाँले भन्नु भयो “विशेष गरि धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो, साउन, भदौ र असोजमा जापानिज ईन्सेपलाईटिस बढी देखिने गर्दछ ।”
यस रोगबाट धेरै व्यक्तिहरु गम्भिर बिरामी नहुने गरेपनि केहीको गम्भिर अबस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको चापागाईले बताउनु भयो ।
“यस रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाई वा कमजोरी देखिन्छन्” उहाँले भन्नु भयो “यस रोगका खतराका लक्षणहरु छारेरोग, प्यारालाईसिस र अचेत हुनु पनि रहेको छ ।”