हुप्सेकोट गाउँपलिकामा दुध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान


विष्णुप्रसाद गौडेल,१५ साउन:
नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने भएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष सम्म प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिदै आएकोमा चालुआर्थिक वर्ष देखि अनुदान रकम बृद्धि गरि प्रतिलिटर १० रुपौयाँ पुर्याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । गाउँपालिकाले सहकारीमार्फत किसानलाई प्रतिलिटर १० रुपैयाँको दरले अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको हो ।
अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने अध्यक्ष पाण्डले बताउनु भयो ।
“गाउँपालिका भित्र रहेका दुग्ध सहकारीहरुले उपलब्ध गराएको वार्षिक तथ्याङ्कको आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ” उहाँले भन्नु भयो “किसानलाई प्रोत्साहान गरि गाउँपालिका भित्र दुध उत्पादन बृद्धि गर्न यस आर्थिक वर्षमा अनुदान रकम गत वर्षको भन्दा सतप्रतिशत बृद्धि गरेका छौ ।”
उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ ।
गत आर्थिक वर्ष २०७९/८० मा दुइ वटा सहकारी संस्था मार्फत किसानलाई अनुदान उपलव्ध गराईएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताउनु भयो । गत आर्थिक वर्षमा कुल ५७ हजार ३२३ लिटर दुधमा प्रतिलिटर पाँच रुपैयाँको दरले दुई लाख ८६ हजार ६१९ रुपैँया अनुदान रकम प्रदान गरिएको लेखा अधिकृत रेग्मीले बताउनु भयो । “गत आर्थिक वर्षमा शहिद प्रदुक बहुउद्धेश्य सकारी सस्था लि.ले २२ हजार १६ लिटर दुधको जम्मा एक लाख १० हजार ८० रुपैँया र साना किसान कृषि सहकारी संस्था लि.ले ३५ हजार ३०७ लिटर दुधको एक लाख ७६ हजार ५३९ रुपौयाँ अनुदान लगेका छन्”उहाँले भन्नु भयो ।
यो वर्ष गत वर्षको भन्दा धेरै दुध उत्पादन हुने र अनुदान पाउने किसानको संख्या पनि वढ्ने अनुमान गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत टंकनाथ घिमिरेले बताउनु भयो । “हुप्सेकोट गाउँपालिकालाई दूग्ध उत्पादमा आत्मनिर्भर बनाउने लक्ष अनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रमहरु अगाडि सारिएका छन्” उहाँले भन्नु भयो “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुदा दुध उत्पादन कम भएको छ ।”
चालु आर्थिक वर्षका लागि दुधमा अनुदान कार्यक्रम अन्तर्गत पाँच लाख बजेट विनियोजन गरिएको अधिकृत घिमिरेले बताउनु भयो ।
किसानको पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसानहरुले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको कृषकहरुको भनाई छ ।
दुधमा अनुदाउन पाउँनु भएका किसान जीवन लम्सालले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताउनु भयो ।(रासस)

प्रतिक्रिया