नवलपुरमा भन्सार छलीका सामाग्री बरामदबाट रु. ६ करोड ३८ लाख राजश्व संकलन


नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापुर्व ) नवलपुरले भन्सार छलीका सामान बरामदबाट रु. ६ करोड ३८ लाख बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा भन्सार छलीका सामाग्री बरामदबाट रु. ६ करोड ३८ लाख ९२ हजार ५७० राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापुर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।
गत आर्थिक वर्षमा भन्सार छली ल्याइएका मोबाइल, कपडा, भाँडाकुँडा लगायतका विभिन्न सामाग्री बरामद गरिएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । ५६ पटक भन्सार छली नेपाल भित्राइएका सामाग्री बरामद गरिएको उहाँले बताउनुभयो ।प्रहरीले जिल्लामा नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न सवारी नियन्त्रणमा लिएर यसै अवधिमा रु. ३९ लाख ५ हजार २०८ राजश्व असुल गरेको छ । नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न दुई सय ८ वटा सवारी साधन कारवाहीबाट उक्त राजश्व संकलन गरिएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।
ट्राफिक नियम उल्लंघन गर्ने गर्ने ३७ हजार ९०५ वटा सवारीसाधन कारवाहीबाट रु. ३ करोड १० लाख राजश्व संकलन गरेको छ ।
प्रहरीले गत आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गरि उनिहरु बाट जरिवाना वापत रु. १८ लाख ९८ हजार ८९२ असुल गरेको छ । प्रहरी उपरीक्षक तिवारीका अनुसार गत आर्थिक वर्षमा एक सय ६२ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
२ सय ७१ कसुरजन्य सवारी लिलाम विक्रिबाट प्रहरीले रु.४१ लाख ४३ हजार ३३२ राजश्व संकलन गरेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापुर्व ) नवलपुरले विभिन्न प्रकारका शीर्षकमा गरि कुल रु. १० करोड ५७ लाख ७२ हजार ५१२ राजश्व संकलन गरेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

प्रतिक्रिया