अफगानिस्तानमा अलपत्र नेपालीलाई तुरुन्त स्वदेश फर्काउन मागः डा. बाबुराम भट्टराई


काठमाडौं – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकार समक्ष माग गरेका छन् । नेता भट्टराईले अलपत्र परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन आलटाल गर्न नहुने भन्दै उनीहरुको जीवनरक्षाको माग गरेका हुन् ।

नेता भट्टराईले आइतबार सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, ’अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन । पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो । गइसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तु परन्तु नहोस् ।’
अन्य विभिन्न मुलुकले त्यहाँ फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने काम गरिरहेका छन् । अफगानिस्तानको राजधानी काबुल बाहेक प्रमुख सहर तालिबान लडाकुहरूले आफ्नो नियन्त्रणमा लिएको छ ।

लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष आइतबार बिहानै आफ्नो नियन्त्रणमा लिएका छन् । योसँगै अफगानिस्तानका ३४ प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानले कब्जा गरिसकेका छन् । अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि सो देशमा उत्पन्न खतराले त्यहाँ रहेका नेपालीहरू असुरक्षित हुँदै गएका छन् ।

प्रतिक्रिया