हुप्सेकोट गाउँपालिकामा बजार अनुगमन 


हुप्सेकोट (नवलपरासी),१७ साउन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । गाउँपालिका भित्रका व्यवसाय, बजार तथा पसल अनुगमन सुरु गरिएको हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह राना मगरले बताउनु भयो ।

बिहीबार देखि सुरु गरिएको बजार अनुगमन टोलीले गाउँपालिका भित्रका सबै बजार क्षेत्र तथा पसलहरूको अनुगमन गर्ने रानाले जानकारी दिनु भयो ।
पहिलो दिन बिहीबार हुप्सेकोट गाउँपालिका ४ झ्यालबास बजार क्षेत्रको अनुगमन गरिएको छ । अनुगमन गरिएका पसल, होटलहरुमा सामान्य सुधारका लागि सुझाव दिनु परे पनि अन्य केही कैफियत नभेटिएको हुप्सेकोट गाउँपालिकाका प्रशासन शाखा प्रमुख रवि काफ्लेले बताउनु भयो । केही पसलहरू गाउँपालिकामा दर्ता,नवीकरण गर्नु पर्ने देखिएको थियो भने केही पसलहरू वाट उत्पादित र प्रयोग अवधि नलेखिएको केही प्याकेट खानेकुरा बरामद गरिएको काफ्लेले बताउनु भयो ।
बजार अनुगमन कार्यलाई निरन्तरता दिइने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । “बजार अनुगमन व्यापारी तथा पसल सञ्चालकहरूलाई तर्साउन, डर देखाउन भन्दा पनि उहाँहरूको सहजिकरण र समस्या समाधानका लागि प्रत्यक्ष भेटघाट गर्ने माध्यमका रूपमा लिइएको छ”,अध्यक्ष पाण्डेले भन्नु भयो,“केही कमी कमजोरी भेटिए सुधारका लागि सहजिकरण गरिदिने र पिर मर्का वुझने कार्य बजार अनुगमनका क्रममा हुने छन् ।”
बजार अनुगमन कार्यलाई चाडपर्व लक्षित मात्र नगरी अव गाउँपालिकाको नियमित कार्य योजना अनुसार निरन्तरता दिइने अध्यक्ष पाण्डेले बताउनु भयो ।
अनुगमन टोलीले व्यवसायहरूको दर्ता,नवीकरण भए नभएको अनुगमन तथा म्याद नाघेका वस्तुहरू जफत गरेको छ । व्यवसायिहरुलाई सामान खरिद गर्दा उत्पादन मिति, म्याद सकिने मिति र विक्री मूल्य स्पष्ट लेखिएको सामाग्री राख्न अनुरोध गरिनुका साथै मूल्य सूचि टाँस गर्न निर्देशन दिइएको छ ।
बजार अनुगमन टोलीमा हुप्सेकोट गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया