नवलपुरमा चैते धान खेतीको क्षेत्र र उत्पादन बर्सेनि बढ्दै
विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), २ वैशाख,(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तह वाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढ्दै गएको हो ।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको मा चालु आर्थिक वर्ष सम्म आई पुग्दा झन्डै दोब्बरले वृद्धि भएको छ । यस सिजनको चैते धान रोपाई जिल्लामा सकिदा कुल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । यस वर्ष चैते धान रोपाई गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि वालि विज्ञ सञ्जय ढकालले बताउनु भयो ।
“चालु आर्थिक वर्षमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ, गत आर्थिक वर्षमा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो”,उहाँले भन्नु भयो,“जिल्लामा पछिल्लो दुई÷तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।”
आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो । पहिला–पहिला खोलाबाट कुलोमार्फत सिँचाइ पुगेको स्थानमा मात्र चैते धान खेती गरिन्थ्यो भने अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको ठाउँमा पनि यो खेती गर्न थालिएकोले क्षेत्र विस्तार भएको ढकालले बताउनु भयो । सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन् । चैते धान खेतीको क्षेत्र विस्तार भए सँगै उत्पादन पनि बढन थालेको छ ।
कृषि वालि विज्ञ ढकालले भन्नु भयो “जिल्लामा गत आर्थिक वर्षमा चैते धानको उत्पादन छ हजार एक सय २३ मेट्रिक टन भएको थियो भने यो सिजनमा क्षेत्र बढेकाले छ हजार सात सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।”
वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेको उहाँको बुझाइ छ । कतिपय स्थानमा किसानले एउटै धानको बिउ धेरै वर्ष सम्म लगाउँदा उत्पादनमा वृद्धि हुन नसकेको वालि विज्ञ ढकालले बताउनु भयो ।
जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनु भयो ।
“धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ”, उहाँले भन्नुभयो, “जिल्लाभित्र उत्पादन हुने चैते धान कृषक आफैँले बिक्री गर्ने गरेका छन् ।”
जिल्लाको भौगोलिक अवस्था अनुसार माघ अन्तिम हप्ता देखि सुरु भएको चैते धान रोपाई चैत अन्तिम हप्तामा सकिएको प्रमुख तिवारीले बताउनु भयो । जिल्लामा चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उहाँले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र समेत धान निर्यात गर्न सकिने बताउनुभयो ।